Categories समाचार

खालि सिलिन्डर बोकेर दिनभर भौंतारिँदै सर्वसाधारण

Advertisement

वीरगंज । फुल सिलिन्डर वितरण गर्ने निर्णय लागू भएपछि पर्सामा खाना पकाउने ग्यासको अभाव देखिन थालेको छ। दैनिक उपभोगका लागि ग्यासमा निर्भर सर्वसाधारण अहिले खाली सिलिन्डर बोकेर बिहानदेखि साँझसम्म विभिन्न ग्यास डिलर तथा विक्रेताकोमा धाइरहे पनि भरिएको सिलिन्डर पाउन नसकेको गुनासो बढ्दै गएको छ।

सर्वसाधारणका अनुसार अधिकांश ग्यास विक्रेताले “आज सकियो”, “भोलि आउनुस”, “नाम टिपाएर जानुस”, “गाडी आएपछि फोन गर्छौं” जस्ता आश्वासन दिँदै फर्काउने गरेका छन्। तर, पटक–पटक धाउँदा पनि ग्यास उपलब्ध नभएको उनीहरूको भनाइ छ। ग्यास अभावका कारण घर–घरमा खाना पकाउन समेत समस्या उत्पन्न हुन थालेको उपभोक्ताहरूले बताएका छन्।

Advertisement

उपभोक्ताहरूले बजारमा कृत्रिम अभाव सिर्जना गरिएको हो कि आपूर्ति नै प्रभावित भएको हो भन्ने विषयमा सम्बन्धित निकायले तत्काल छानबिन गरी वास्तविक अवस्था सार्वजनिक गर्न माग गरेका छन्। साथै, कालोबजारी, लुकाइछिपाइ वा कृत्रिम अभाव भए कडा कारबाही गर्नुपर्ने उनीहरूको माग छ।

Advertisement

यस विषयमा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालसँग बुझ्दा उनले ग्यास अभावबारे आफूलाई हालसम्म औपचारिक जानकारी नआएको बताए। उनले अब बजार अनुगमन गरी वास्तविक अवस्था बुझ्ने र आवश्यक कदम चालिने बताएका छन्।

यता, बजारमा ग्यासको अभाव बढ्दै जाँदा उपभोक्तामा अन्योल र चिन्ता बढेको छ भने सम्बन्धित निकायबाट प्रभावकारी अनुगमन र सहज आपूर्तिको व्यवस्था गर्न सर्वसाधारणले माग गरेका छन्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *