वीरगञ्ज । त्रिभुवन राजपथ अन्तर्गत वीरगञ्जको मेनरोड विस्तारका क्रममा सडक डिभिजन कार्यालय हेटौंडाले भेदभावपूर्ण ढंगले काम गरेको भन्दै स्थानीयवासीले असन्तुष्टि व्यक्त गरेका छन्।
स्थानीयका अनुसार असार ३१ गतेसम्म एडभान्स अस्पताल आसपासका अधिकांश घर तथा संरचना भत्काइसकिएको थियो। त्यसपछि रथयात्रालाई लक्षित गर्दै केही दिनका लागि रोकिएको संरचना हटाउने कार्य साउन ६ गतेदेखि पुनः सुरु भए पनि एडभान्स अस्पताल रहेको भवन भने अझै यथावत रहेको छ।
एक स्थानीयले अस्पताल करिब १० दिनअघि नै अन्य स्थानमा सारिसकिएको दाबी गर्दै भवन भत्काउन पटक–पटक अतिरिक्त समय दिइएकोप्रति प्रश्न उठाएका छन्। “अरूलाई सामान निकाल्नसमेत पर्याप्त समय नदिई तत्काल संरचना भत्काइयो, तर एउटै भवनलाई पटक–पटक समय थपिनु किन? यो सबैका लागि समान व्यवहार भएन,” उनले गुनासो गरे।
स्थानीयहरूले सडक विस्तार अभियानमा सबै संरचनामाथि समान मापदण्ड लागू हुनुपर्ने माग गरेका छन्। कसैलाई केही मिनेटको समयसमेत नदिई डोजर चलाउने र कसैलाई पटक–पटक समय थप्ने कार्यले निष्पक्षतामाथि प्रश्न उठाएको उनीहरूको भनाइ छ।
यस विषयमा सडक डिभिजन कार्यालय हेटौंडाका इन्जिनियर दुर्गा प्रसादसँग बुझ्दा सम्बन्धित भवनलाई शुक्रबारसम्मको समय दिइएको जानकारी दिए। उनले तोकिएको समयभित्र संरचना नहटाए आवश्यक प्रक्रिया अनुसार अगाडि बढाइने बताए।
मेनरोडको २५–२५ मिटर क्षेत्रभित्र पर्ने संरचना हटाउने अभियान जारी रहेका बेला एउटै भवनलाई पटकपटक समय दिइएको विषयले स्थानीय तहमा चर्चा र विवाद उत्पन्न भएको छ।


