Categories समाचार

रोटरी क्लब अफ वीरगञ्जमा नयाँ नेतृत्व, मिश्राले सम्हाले अध्यक्षको जिम्मेवारी

Advertisement

वीरगञ्ज । रोटरी क्लब अफ वीरगञ्जले आफ्नो ३९औँ पदस्थापन (इन्स्टलेसन) समारोह सम्पन्न गर्दै नयाँ नेतृत्वलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरेको छ। शनिबार वीरगञ्जस्थित होटल भिस्वामा आयोजित समारोहमा रोटेरियन राकेश मिश्राले सन् २०२६–२७ का लागि क्लबको अध्यक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै कार्यभार सम्हाले।

रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर (२०२६–२७) रोटेरियन विष्णुबहादुर कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नयाँ कार्यसमिति पनि घोषणा गरिएको छ।

Advertisement

नवगठित कार्यसमितिमा श्वेता गुप्ता सचिव, गोपाल खेतान तत्कालीन अध्यक्ष, दीनदयाल केडिया अध्यक्ष–निर्वाचित, अमित कुमार गुप्ता उपाध्यक्ष, पियुष गुप्ता सहसचिव, डा. अमर केयाल कोषाध्यक्ष, डा. प्रेरणा प्रियदर्शिनी सह–कोषाध्यक्ष, सोहन पोद्दार क्लब प्रशासन निर्देशक, अभिषेक चौधरी सदस्यता निर्देशक, रणजेश श्रेष्ठ क्लब प्रशासन समिति संयोजक तथा पूजा खत्री सदस्यता समिति संयोजकमा चयन भएका छन्। अन्य विभिन्न समिति तथा उपसमितिमा पनि सदस्यहरूको मनोनयन गरिएको क्लबले जनाएको छ।

Advertisement

समारोहमा नेपाल र भारतका विभिन्न रोटरी क्लबका पदाधिकारी तथा सदस्य, सामाजिक अभियन्ता, उद्योगी, व्यवसायी, पेशाकर्मी र आमन्त्रित अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै डिस्ट्रिक्ट गभर्नर विष्णुबहादुर कार्कीले रोटरीका सेवा, नेतृत्व विकास र सामाजिक उत्तरदायित्वका अभियानलाई थप प्रभावकारी बनाउन सदस्यहरूबीच सहकार्य र एकताको आवश्यकता रहेको बताए।

नवनिर्वाचित अध्यक्ष मिश्रले आफ्नो कार्यकालमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण र सामुदायिक सेवाका कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले रोटरीको मूल मन्त्र “सेवा नै सर्वोपरि” लाई व्यवहारमा उतार्दै समाजमा सकारात्मक परिवर्तनका लागि निरन्तर काम गर्ने विश्वास व्यक्त गरे।

समारोहमा निवर्तमान कार्यसमितिबाट नयाँ नेतृत्वलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गर्नुका साथै क्लबमा उल्लेखनीय योगदान पुर्‍याएका सदस्यहरूलाई सम्मान गरिएको थियो। सांस्कृतिक प्रस्तुति, शुभकामना मन्तव्य र आपसी भेटघाटसँगै कार्यक्रम सम्पन्न भएको क्लबले जनाएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *