वीरगञ्ज । नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण, अस्पतालभित्र तोडफोड र अवाञ्छित गतिविधिप्रति नेपाल चिकित्सक संघ, नारायणी शाखाले कडा आपत्ति जनाउँदै दोषीलाई कानुनअनुसार तत्काल कारबाही गर्न सरकारसँग माग गरेको छ। माग बेवास्ता गरिए आकस्मिक सेवासहित सम्पूर्ण स्वास्थ्य सेवा बहिष्कार गर्ने चेतावनीसमेत संघले दिएको छ।
अध्यक्ष डा. मनोज कुमार गुप्ताको अध्यक्षतामा बसेको आकस्मिक बैठकपछि जारी विज्ञप्तिमा चिकित्सक डा. प्रमोद रामसहित स्वास्थ्यकर्मीमाथि भएको भौतिक आक्रमणको घोर निन्दा गर्दै घटनामा संलग्न सबैमाथि मुलुकी अपराध संहिता, २०७४ तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०७५ (संशोधनसहित) बमोजिम तत्काल मुद्दा दर्ता गरी कडा कारबाही गर्न माग गरिएको छ।
संघले घटनापछि निलम्बनमा परेका पीडित चिकित्सकहरूको निलम्बन बिना सर्त फिर्ता लिन, गठन गरिएको छानबिन समिति खारेज गर्न, पत्रकार वा अन्य पक्षबाट हुने अनधिकृत हस्तक्षेप तथा चरित्रहत्या रोक्न र सम्पूर्ण स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न पनि सरकारसँग माग गरेको छ।
चिकित्सक संघले आफ्ना माग तत्काल सम्बोधन नभए नारायणी अस्पतालसहित देशभरका सरकारी, सामुदायिक, निजी अस्पताल तथा मेडिकल कलेजहरूमा आकस्मिक (इमर्जेन्सी) सेवासहित सबै स्वास्थ्य सेवा पूर्ण रूपमा ठप्प पार्ने घोषणा गरेको छ।
संघले आन्दोलनका कारण बिरामी र सर्वसाधारणलाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकाय र प्रशासनले नै वहन गर्नुपर्ने स्पष्ट चेतावनी दिएको छ।




