वीरगञ्ज । सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रोट्र्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसले पर्साको श्री दलित आधारभूत विद्यालय, महुवनलाई ७ थान पंखा हस्तान्तरण गरेको छ।
विद्यालयमा अत्यधिक गर्मी र आवश्यक भौतिक पूर्वाधारको अभावका कारण विद्यार्थीहरूको पठनपाठन प्रभावित भइरहेको अवस्थालाई मध्यनजर गर्दै अध्ययनका लागि सहज वातावरण निर्माण गर्ने उद्देश्यले पंखा सहयोग गरिएको क्लबले जनाएको छ।
क्लबका अध्यक्ष रामबिनय यादवको अध्यक्षतामा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालयका शिक्षक, स्थानीयवासी तथा क्लबका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा अध्यक्ष यादवसहित आलोक यादव, आर्यन गुप्ता र मनीष सर्राफको सक्रिय सहभागिता रहेको थियो। उनीहरूले शिक्षा क्षेत्रमा सामाजिक योगदानलाई निरन्तरता दिँदै विद्यालय, विद्यार्थी र समुदायको हितमा यस्ता सेवामूलक कार्यक्रम आगामी दिनमा पनि सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमलाई सफल बनाउन आवश्यक ७ थान पंखाको व्यवस्थापनमा विशेष सहयोग पुर्याउने प्रकाश कर्ण तथा अन्य सहयोगी दाताप्रति क्लबले हार्दिक आभार व्यक्त गरेको छ।
कार्यक्रममा बोल्दै अध्यक्ष यादवले शिक्षा क्षेत्रमा गरिने साना सहयोगले पनि दीर्घकालीन सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै सामाजिक सेवामार्फत समुदायसँगको सहकार्यलाई अझ सशक्त बनाइने बताउनुभयो।
विद्यालय परिवारले रोट्र्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिस र सहयोगी दाताप्रति धन्यवाद ज्ञापन गर्दै प्राप्त पंखाले विद्यार्थीहरूको अध्ययन–अध्यापनका लागि थप सहज र अनुकूल वातावरण सिर्जना हुने विश्वास व्यक्त गरेको छ।


