वीरगंज । पर्सा प्रहरीले वीरगंज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोकको जय नेपाल होटलबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको आधारमा आइतबार बिहान करिब ७:३० बजे प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण ब्युरो पर्साको संयुक्त टोलीले होटलको कोठा नं. ११८ मा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा NITCOR-10 लेखिएको २० पत्तामा रहेका २०० वटा ट्याब्लेट तथा ONEREX लेखिएको १०० मिलिलिटरका २ बोतल लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा चितवनको रत्ननगर नगरपालिका–६ निवासी ५२ वर्षीय उत्तम कुमार पाठक र वीरगंज महानगरपालिका–२ निवासी ३५ वर्षीय ओसिम ठकुराई रहेका छन्।
बरामद लागूऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई लागूऔषध बिक्री–वितरण सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।


