Categories समाचार

वीरगंजसहित ६ प्रमुख नाकामा निगरानी कडा

वीरगंज । सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण, सीमा सुरक्षा सुदृढीकरण तथा यात्रु सहजीकरणलाई प्रभावकारी बनाउने उद्देश्यले सशस्त्र प्रहरी बलले देशका ६ प्रमुख सीमा नाकामा ‘बोर्डर इन्टरएक्सन टिम (बीआईटी)’ परिचालन गरेको छ।

सशस्त्र प्रहरीले साउन १० गतेदेखि पर्साको वीरगंज, झापाको काँकडभिट्टा, मोरङको रानी, रुपन्देहीको डन्डा, बाँकेको जमुनाह र कञ्चनपुरको गड्डाचौकी नाकामा बीआईटी टोली परिचालनमा ल्याएको हो।

Advertisement

सशस्त्र प्रहरी २८ नम्बर गण कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक गोपाल अधिकारीका अनुसार प्रत्येक नाकामा सशस्त्र प्रहरी नायब निरीक्षकको नेतृत्वमा १४ सदस्यीय टोली खटाइएको छ। टोली सम्बन्धित सीमा सुरक्षा गुल्ममा रहेर सादा पोसाक (सफारी सुट) मा सीमा क्षेत्रमा परिचालित हुनेछ।

Advertisement

बीआईटी टोलीको औपचारिक शुभारम्भ सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले रुपन्देहीको डन्डास्थित सीमा सुरक्षा गुल्मबाट गरेका हुन्। सो अवसरमा उनले टोलीलाई सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन जिम्मेवारीका साथ काम गर्न निर्देशन दिएका थिए।

यस टोलीले सीमा पार गर्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई आवश्यक सहयोग र सहजीकरण गर्नेछ। साथै मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, लागूऔषध तस्करी रोकथाम, वन्यजन्तुका अंग तथा अन्य अवैध वस्तुको कारोबारमाथि निगरानी बढाउने जिम्मेवारी पनि टोलीलाई दिइएको छ।

सशस्त्र प्रहरीका अनुसार बीआईटी टोलीले सीमा क्षेत्रमा कार्यरत विभिन्न सरकारी निकाय तथा सुरक्षा निकायसँग समन्वय गर्दै सूचना संकलन, आदान–प्रदान र आपराधिक गतिविधिमाथि निगरानी गर्नेछ।

मुख्य सीमा नाकामा परिचालित टोली बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म विभिन्न सिफ्टमा खटिने व्यवस्था गरिएको छ। प्रत्येक सिफ्टमा कम्तीमा एक जना महिला सशस्त्र प्रहरीको सहभागिता सुनिश्चित गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *