वीरगंज, १० साउन। नारायणी अस्पतालमा बिरामीको मृत्यु प्रकरणपछि गठन गरिएको छानबिन समितिमा आफ्नो नाम समावेश गरिए पनि आफू कुनै पनि बैठकमा सहभागी नभएको र समितिमा नबस्ने निर्णय गरेको डा. निरज सिंहले बताएका छन्।
डा. सिंहले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै हिजो नारायणी अस्पतालमा बसेको कुनै पनि बैठकमा आफू सहभागी नभएको तथा आफूलाई कुनै जानकारी नै नदिई आफ्नो नाममा छानबिन समिति गठन गरिएको बताएका छन्।
उनले उक्त विषयमा पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलाई आफू समितिमा नबस्ने निर्णयबारे औपचारिक जानकारी गराइसकेको उल्लेख गरेका छन्।
डा. सिंहका अनुसार, घटनाको निष्पक्ष छानबिनका लागि नेपाल मेडिकल काउन्सिललाई पनि अनुसन्धान गर्न आग्रह गरिएको छ।
साथै उनले छानबिन समितिबाट भएका कुनै पनि निर्णयमा आफ्नो हस्ताक्षर नरहेको र आफूले कुनै निर्णयमा सहमति नजनाएको स्पष्ट पार्दै आफ्नो नाम जोडेर हुने कुनै पनि निर्णयप्रति आफू जिम्मेवार नरहने संकेत दिएका छन्।
नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि उत्पन्न विवादका बीच अस्पतालले गठन गरेको छानबिन समितिलाई लिएर नयाँ विवाद देखिएको छ। डा. सिंहको यो अभिव्यक्तिले समितिको गठन प्रक्रिया र त्यसको वैधानिकतामाथि थप प्रश्न उठाएको छ।


