Categories समाचार स्वास्थ्य

नारायणी अस्पताल घटनामा एक जना पक्राउ, दोषी सबैमाथि कानुनी कारबाही हुने

वीरगंज । स्वास्थ्य तथा जनसंख्यामन्त्री निसा मेहताले नारायणी अस्पताल, वीरगंजमा उपचारका क्रममा बिरामीको निधन भएको घटनाप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेकी छन्।

मन्त्री मेहताले घटनापछि अस्पतालको आकस्मिक कक्षमा भएको तोडफोड तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीमाथि भएको आक्रमणलाई गम्भीर रूपमा लिएको बताउँदै अस्पतालजस्तो संवेदनशील स्थानमा हुने कुनै पनि प्रकारको हिंसा स्वीकार्य नहुने स्पष्ट पारेकी छन्।

Advertisement

उनले घटनालगत्तै गृहमन्त्री सुधन गुरुङ, नेपाल प्रहरीका महानिरीक्षक, पर्साका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका अधिकारी, नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट तथा नेपाल मेडिकल एसोसिएसनका पदाधिकारीसँग निरन्तर समन्वय गर्दै आवश्यक पहल अघि बढाइएको जानकारी दिइन्।

Advertisement

उनका अनुसार घटनामा संलग्न एक जना पक्राउ परिसकेका छन् भने थप अनुसन्धान र कानुनी प्रक्रिया जारी रहेको छ। घटनाको निष्पक्ष अनुसन्धान गरी संलग्न सबैलाई प्रचलित कानुनअनुसार कारबाही गरिने उनले बताइन्।

घटनामा गम्भीर घाइते भएका मेडिकल अफिसर डा. प्रमोद रामको स्वास्थ्य अवस्थाबारे आफूले जानकारी लिएको उल्लेख गर्दै मन्त्री मेहताले उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिइएको र उपचारको सम्पूर्ण व्यवस्था नेपाल सरकारले मिलाएको जानकारी दिइन्।

घटनाको सत्यतथ्य बुझ्न, अवस्थाको अनुगमन गर्न तथा स्वास्थ्य सेवा सहज रूपमा सञ्चालन गराउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट प्रतिनिधि टोली वीरगंज पठाइएको पनि उनले बताइन्।

मन्त्री मेहताले स्वास्थ्यकर्मीमाथिको आक्रमण केवल व्यक्तिविशेषमाथिको हिंसा नभई सम्पूर्ण स्वास्थ्य प्रणाली र नागरिकको उपचार पाउने अधिकारमाथिको आघात भएको उल्लेख गर्दै स्वास्थ्य संस्था भित्र हुने हिंसाप्रति सरकारले शून्य सहनशीलताको नीति अपनाएको स्पष्ट पारिन्।

उनले नारायणी अस्पतालमा स्वास्थ्य सेवा निर्बाध रूपमा सञ्चालन गर्न आवश्यक सुरक्षा व्यवस्था मिलाइएको तथा चिकित्सक, स्वास्थ्यकर्मी र सेवाग्राहीले भयमुक्त वातावरणमा सेवा दिन र लिन सक्ने अवस्था सुनिश्चित गर्न मन्त्रालय नेपाल प्रहरी तथा सम्बन्धित निकायसँग निरन्तर समन्वयमा रहेको बताइन्।

साथै स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन, स्वास्थ्यकर्मीको कार्यस्थल सुरक्षा सुदृढ गर्न र आवश्यक कानुनी सुधार अघि बढाउने प्रक्रिया पनि मन्त्रालयले सुरु गरेको जानकारी दिँदै उनले स्वास्थ्य संस्था नागरिकको जीवन बचाउने आशाको केन्द्र भएकाले पीडा, असहमति वा आक्रोश व्यक्त गर्ने माध्यम हिंसा हुन नसक्ने बताइन्।

स्वास्थ्य सेवा सुरक्षित, मर्यादित र भयमुक्त बनाउने आफ्नो प्रतिबद्धता दोहोर्याउँदै मन्त्री मेहताले संवेदनशील अवस्थामा सबै पक्षलाई संयम, सहयोग र सहकार्यका लागि अपिल गरेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *