वीरगंज । ललितपुरमा १७ वर्षीया किशोरीलाई आर्थिक प्रलोभन देखाएर डिम्ब (अन्डादान) झिकिएको घटनाको अनुसन्धानका क्रममा नयाँ तथ्य सार्वजनिक भएको छ। प्रहरीले वरिष्ठ प्रसुति तथा स्त्रीरोग विशेषज्ञ तथा आईभीएफ चिकित्सक डा. नुतन शर्मा र डिम्ब तस्करीको आरोपमा पक्राउ परेकी २१ वर्षीया राधिका गोतामेबीच आर्थिक कारोबार भएको प्रमाण फेला पारेको जनाएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार लमजुङ स्थायी घर भई हाल ललितपुर बस्दै आएकी गोतामेको मोबाइल परीक्षण गर्दा डा. शर्माले मोबाइल बैंकिङमार्फत लगातार दुई दिन ५०–५० हजार रुपैयाँ पठाएको स्क्रिनसट फेला परेको छ। प्रारम्भिक अनुसन्धानअनुसार उक्त रकम २१ र २२ डिसेम्बर २०२५ मा पठाइएको देखिएको प्रहरीले जनाएको छ।
अनुसन्धानमा संलग्न स्रोतका अनुसार यस घटनामा पनि डा. शर्माले गोतामेलाई ५० हजार रुपैयाँ उपलब्ध गराएकी थिइन्। तर पीडित किशोरीलाई भने गोतामेले ३० हजार रुपैयाँ मात्रै दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यस आधारमा यसअघि पनि युवतीहरूलाई डा. शर्मासम्म पुर्याएर गोतामेले आर्थिक लाभ लिने गरेको हुन सक्ने आशंकामा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
पीडित किशोरीको बयानअनुसार उनलाई साथीमार्फत “डिम्ब झिक्दा केही हुँदैन, पैसा पनि पाइन्छ” भन्दै प्रलोभनमा पारिएको थियो। त्यसपछि राधिका गोतामेको सम्पर्कमा पुर्याई ललितपुरको ग्वार्कोस्थित बीएन्डबी अस्पतालको आईभीएफ केन्द्रमा लगेर डिम्ब निकालिएको आरोप छ। उक्त केन्द्रमा डा. नुतन शर्मा कार्यरत रहेको बताइएको छ।
पीडितका अनुसार सुरुमा हर्मोनसम्बन्धी इन्जेक्सन लगाइएको थियो भने करिब एक सातापछि डिम्ब निकाल्ने प्रक्रिया गरिएको थियो। गत असार १४ गते उक्त प्रक्रिया सम्पन्न भएको दाबी गरिएको छ। त्यसपछि स्वास्थ्यमा समस्या देखिएपछि उनले परिवारलाई जानकारी दिएकी थिइन्। उनको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भएपछि मात्रै घटना प्रहरीसम्म पुगेको हो।
यस घटनामा पीडित किशोरीले डा. शर्माविरुद्ध प्रत्यक्ष संलग्नताको आरोप लगाउँदै जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी छन्। तर डा. शर्मा हालसम्म पक्राउ परेकी छैनन्। प्रहरीका अनुसार उनी हाल फिलिपिन्समा रहेकाले अनुसन्धान प्रक्रिया जटिल बनेको छ।
यता, पीडित परिवारले घटनाका मुख्य आरोपित चिकित्सकलाई अझै पक्राउ नगरिएको भन्दै असन्तुष्टि जनाएको छ। परिवारको दाबीअनुसार राधिका गोतामेलाई बीएन्डबी अस्पतालबाट पक्राउ गर्दा डा. शर्मा पनि अस्पतालमै थिइन्। घटना सार्वजनिक भएपछि उनी फिलिपिन्स गएको परिवारको आरोप छ।

यसअघि पनि डा. नुतन शर्मामाथि लिंग पहिचान गरी गर्भपतन गराएको आरोपमा नेपाल मेडिकल काउन्सिलले तीन महिनाका लागि चिकित्सकीय इजाजतपत्र निलम्बन गरेको थियो। उक्त निर्णयविरुद्ध उनले उच्च अदालत पाटनमा रिट दायर गरेकी थिइन्।
प्रहरीले घटनासम्बन्धी थप प्रमाण संकलन तथा संलग्न अन्य व्यक्तिको भूमिकाबारे अनुसन्धान जारी रहेको जनाएको छ।




