वीरगंज । नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको घटनापछि नेपाल चिकित्सक संघको केन्द्रीय टोली वीरगंज पुगेको छ। संघका महासचिव डा. विश्वराज दवाडी र सहकोषाध्यक्ष डा. तेजसु सिंह मल्ल नेतृत्वको टोलीले घटनाको स्थलगत अनुगमन गर्दै घाइते चिकित्सक, अस्पताल प्रशासन तथा स्थानीय शाखाका पदाधिकारीसँग छलफल गरेको हो।
टोलीले आक्रमणमा घाइते भएका डा. प्रमोद राम र उनका परिवारसँग भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थियो। नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजाल, कोषाध्यक्ष डा. संयुक्त आचार्य तथा वीरगंज शाखाका पदाधिकारीहरूसँगको परामर्शपछि डा. रामलाई थप उपचार र सुरक्षाका लागि काठमाडौं लैजाने निर्णय गरिएको सहकोषाध्यक्ष डा. मल्लले जानकारी दिए।
यसपछि संघको केन्द्रीय टोली र वीरगंज शाखाका चिकित्सकबीच करिब तीनदेखि चार घण्टासम्म छलफल भएको थियो। छलफलका क्रममा चिकित्सकहरूले हालको असुरक्षित अवस्थाका कारण नारायणी अस्पतालमा आकस्मिक तथा नियमित स्वास्थ्य सेवा सञ्चालन गर्न नसकिने स्पष्ट पारेका छन्। चिकित्सकहरूको यस निर्णयमा नेपाल चिकित्सक संघले पूर्ण समर्थन र ऐक्यबद्धता जनाएको छ।
संघले पीडित चिकित्सकमाथि अस्पताल प्रशासनले गरेको निलम्बनप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेको छ। साथै, घटनामा संलग्न सबै व्यक्तिलाई कानुनबमोजिम पक्राउ गरी अदालतमा उपस्थित नगरिएसम्म नारायणी अस्पतालमा जारी आन्दोलन नरोकिने अडान पनि संघले दोहोर्याएको छ।
सहकोषाध्यक्ष डा. मल्लका अनुसार पर्साका प्रमुख जिल्ला अधिकारीसँगको भेटमा पनि केवल आश्वासनले समस्या समाधान नहुने भन्दै दोषीविरुद्ध ठोस र प्रभावकारी कानुनी कारबाही अघि बढाउन आग्रह गरिएको छ। यस क्रममा संघका पूर्वअध्यक्ष डा. अनिल विक्रम कार्कीसँग परामर्श गरिएको तथा डा. निरज सिंहले आवश्यक समन्वय र सहयोग गरेको जानकारी पनि दिइएको छ।
नेपाल चिकित्सक संघले चिकित्सक तथा स्वास्थ्य संस्थामाथिको हिंसा कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट गर्दै सुरक्षित वातावरणमा स्वास्थ्य सेवा प्रदान गर्न पाउनु चिकित्सकको मौलिक व्यावसायिक अधिकार भएको जनाएको छ। संघले दोषीमाथि निष्पक्ष र कडा कानुनी कारबाही हुनुपर्ने तथा चिकित्सकहरूको हक, सुरक्षा र पेशागत सम्मानको पक्षमा सधैँ दृढतापूर्वक उभिरहने प्रतिबद्धता समेत व्यक्त गरेको छ।


