वीरगंज । विभिन्न जिल्लामा कार्यरत पत्रकारमाथि समाचारप्रति असन्तुष्टि जनाउँदै धम्की र अपमानजनक व्यवहार भएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिअनुसार, साउन १० गते अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित ‘कालोकोट लगाएर ठगी धन्दा चलाउँदै अधिवक्ता शाही’ शीर्षक समाचारलाई लिएर अधिवक्ता अनिलबहादुर शाही र उनका आफन्तले सो दैनिकका संवाददाता तथा महासंघ कर्णाली प्रदेश समितिका सचिव विस्नप्रसाद न्यौपानेमाथि अपमानजनक भाषा प्रयोग गर्दै निराधार आरोप लगाई गालीगलौज गरेका छन्।
त्यसैगरी, महासंघ कास्की शाखाका सदस्य पत्रकार सुमन ढुंगानालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पोखरा महानगरपालिका–३३ वडा समितिका सभापति दिनेश आचार्यले सेती रिभर साइड रिसोर्टसम्बन्धी समाचारलाई लिएर पटक–पटक सन्देशमार्फत धम्की दिएको महासंघले जनाएको छ।
महासंघले समाचारप्रति चित्त नबुझे कानुनी प्रक्रिया वा प्रचलित विधिमार्फत समाधान खोज्नुपर्नेमा पत्रकारमाथि धम्की, गालीगलौज र अपमानजनक व्यवहार गर्नु प्रेस स्वतन्त्रताविरोधी तथा निन्दनीय कार्य भएको उल्लेख गरेको छ।
घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन तथा पत्रकारले संविधानप्रदत्त अधिकार सुरक्षित र निर्भीक रूपमा प्रयोग गर्न सक्ने वातावरण सुनिश्चित गर्न महासंघले सम्बन्धित निकायसँग माग गरेको छ।



