वीरगंज । समाजसेवी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता विनय गुप्ताले वीरगंजस्थित नारायणी अस्पतालको सेवा, व्यवस्थापन र अनुशासनप्रति गम्भीर प्रश्न उठाउँदै अस्पताल सुधारको आवश्यकता औंल्याएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले नारायणी अस्पतालमा पटक–पटक देखिने विवादले आम नागरिकमा चिन्ता बढाएको बताएका छन्। चिकित्सकमाथि हुने आक्रमण, बिरामी पक्ष र चिकित्सकबीच हुने विवाद तथा त्यसबाट उपचारका लागि अस्पताल पुग्ने सर्वसाधारण नागरिकले सास्ती भोग्नुपरेको उनले उल्लेख गरेका छन्।
गुप्ताले अस्पतालमा कार्यरत चिकित्सकहरू हालको व्यवस्थापनबाट सन्तुष्ट छन् वा छैनन् भन्ने प्रश्न उठाउँदै विशेषज्ञ (एमडी) चिकित्सकहरू सरकारी अस्पतालमा बिरामीले लामो समय कुर्नुपर्ने अवस्था हुँदाहुँदै दिउँसोपछि निजी क्लिनिकमा व्यस्त देखिने अवस्थाबारे पनि ध्यानाकर्षण गराएका छन्। उनले सरकारले उपलब्ध गराउने ड्रेस भत्ता हुँदाहुँदै पनि कतिपय चिकित्सकले ड्रेस कोड पालना नगरेको दाबी गरेका छन्।
अस्पताल सुधारका लागि व्यवस्थापन, चिकित्सक, कर्मचारी तथा सम्बन्धित निकाय सबैले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुपर्ने उनको भनाइ छ।
गुप्ताले अस्पताल सुधारका लागि ड्युटी तालिकाअनुसार ओपीडी र आकस्मिक कक्षमा चिकित्सकको अनिवार्य उपस्थितिको व्यवस्था गर्न, अस्पतालभित्र सेवा प्रवाहको प्रभावकारी अनुगमन गर्न, सरकारी सेवाको समयमा जिम्मेवारीलाई असर पर्ने गरी निजी अभ्यास गर्ने विषयमा स्पष्ट नीति लागू गरी आवश्यक कारबाही गर्न तथा ड्रेस कोड, अनुशासन र सेवाको गुणस्तरमा कडाइ गर्नुपर्ने सुझाव दिएका छन्।
उनले नारायणी अस्पताल सुधार्नु भनेको एउटा अस्पताल मात्र सुधार्नु नभई लाखौं नागरिकको स्वास्थ्य सेवाप्रतिको विश्वास जोगाउनु भएको उल्लेख गर्दै अब दोषारोपणभन्दा पनि जवाफदेहिता, अनुशासन र सुधारमा जोड दिनुपर्ने बताएका छन्।


