वीरगञ्ज । नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण तथा त्यसपछिको घटनाक्रमप्रति गम्भीर आपत्ति जनाउँदै मंगलबार (साउन १२ गते) देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ।
सोमबार जारी प्रेस विज्ञप्तिमा संघले साउन ९ गते नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडमा संलग्न दोषीलाई तत्काल पक्राउ गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९) बमोजिम कडा कारबाही गर्न माग गरेको छ।
संघले जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ताका क्रममा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा प्रहरी परिचालन गरी संघका केन्द्रीय कार्यसमिति सदस्य, नारायणी शाखाका अध्यक्षसहित चिकित्सकहरूमाथि गालीगलौज र दुर्व्यवहार गरिएको आरोप लगाउँदै उक्त घटनाको घोर भर्त्सना गरेको छ।
प्रेस विज्ञप्तिमा टाउकोमा गम्भीर चोट लागेर घाइते भएका डा. प्रमोद रामसहित अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने दोषीलाई कानुनी कारबाही गर्न तथा पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखमाथि पनि कारबाही गर्न माग गरिएको छ।
राज्यबाट चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दमन भएको भन्दै विरोधस्वरूप साउन १२ गते देशभर आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरिएको संघले जनाएको छ। साथै आन्दोलनका थप कार्यक्रम सर्वपक्षीय भेलापछि सार्वजनिक गरिने उल्लेख गर्दै चिकित्सक, स्वास्थ्यकर्मी, बुद्धिजीवी, पत्रकार तथा आम नागरिकलाई आन्दोलनमा साथ दिन अपिल गरिएको छ।
संघले आन्दोलनका कारण बिरामीलाई पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै यसको जिम्मेवारी नेपाल सरकारको हुने पनि विज्ञप्तिमार्फत जनाएको छ।


