Categories समाचार स्वास्थ्य

नारायणी अस्पताल प्रकरण : पीडित परिवार र चिकित्सक आमनेसामने

नारायणी अस्पताल प्रकरण : बीच सडकमै सुते पीडित परिवार, कारबाहीको माग गर्दै चक्काजाम; वार्ता विवादित, मन्त्रालयले सेवा नरोक्न गर्‍यो आग्रह

वीरगंज । नारायणी अस्पतालमा उपचारका क्रममा राजकुमार पटेलको मृत्यु भएपछि उनका आफन्त र स्थानीयवासीले दोषीमाथि कारबाही, निष्पक्ष छानबिन र पीडित परिवारलाई न्यायको माग गर्दै वीरगंजको ड्राइपोर्ट सडकमा चक्काजामसहित विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा पीडित परिवारका सदस्यहरू बीच सडकमै सुतेर आन्दोलनमा उत्रिएका छन्। उनीहरूले न्याय नपाए गाउँ–गाउँबाट मानिस उतारेर थप सशक्त आन्दोलन गर्ने चेतावनी पनि दिएका छन्।

यसैबीच घटनाबारे जिल्ला प्रशासन कार्यालय पर्सामा भएको छलफल पनि विवादमा परेको छ। बैठकमा नेपाल चिकित्सक संघका केन्द्रीय सदस्य डा. अमित झाले प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई “२ मिनेटमै सरुवा गरिदिन्छु” भन्दै चेतावनी दिएको दाबी गरिएको छ। सहभागी स्रोतका अनुसार उनले सीसीटीभी फुटेजमा देखिएका व्यक्तिलाई तत्काल पक्राउ गर्न, प्रमुख जिल्ला अधिकारीको राजीनामा माग गर्न तथा प्रहरी उपरीक्षक सुदीपराज पाठकसँग समेत चर्काचर्की गरेको दाबी गरिएको छ।

Advertisement

बैठकका क्रममा प्रदेशसभा सदस्य रमेश पटेल, प्रतिनिधिसभा सदस्य सुशील कुमार कानु तथा चिकित्सक डा. राकेश यादवबीच पनि भनाभन भएको सहभागीहरूको दाबी छ। विवाद चर्किएपछि मृतक परिवार, सर्वदलीय दलका प्रतिनिधि र अन्य सहभागीहरू लामो समयसम्म छलफलको प्रतीक्षा गरेर अन्ततः फर्किएको बताइएको छ।

Advertisement

नेपाल चिकित्सक संघले घटनामा संलग्नमाथि कारबाही, चिकित्सकको सुरक्षा सुनिश्चित गर्नुपर्ने तथा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखमाथिसमेत कारबाहीको माग राख्दै विज्ञप्ति जारी गरेको छ।

यता, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भने वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट घटनाको विरोधमा आन्दोलनरत चिकित्सकहरूलाई स्वास्थ्य सेवा अवरुद्ध नगर्न आग्रह गरेको छ। मन्त्रालयले बिरामीको उपचारलाई निरन्तरता दिँदै स्वास्थ्य सेवा प्रवाहमा सहयोग गर्न सबै चिकित्सकसँग अनुरोध गरेको छ।

यस घटनाले नारायणी अस्पतालको अवस्था थप तनावग्रस्त बनेको छ भने एकातिर पीडित परिवार न्यायको मागमा आन्दोलनरत छन्, अर्कोतिर चिकित्सकहरू सुरक्षाको प्रत्याभूति माग्दै आन्दोलनमा छन्। बीचमा स्वास्थ्य सेवा प्रभावित हुँदा सर्वसाधारण बिरामी प्रत्यक्ष मारमा परिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *