Categories समाचार

निर्माणाधीन पुलको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालिकाको मृत्यु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२६ चकरदहस्थित निर्माणाधीन पुलको जग खन्दा बनेको पानी जमेको खाल्डोमा डुबेर दुई नाबालिका बालिकाको दुःखद मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार मृत्यु हुनेमा स्थानीय किशोरी ठाकुरका नातिनी तथा प्रभु ठाकुरका ५ वर्षीया र ३ वर्षीया दुई छोरी रहेका छन्।

Advertisement

प्रहरीका अनुसार हिजो साँझ बालिकाका हजुरबुबाले उनीहरूलाई खेततर्फ लगेका थिए। त्यसक्रममा नजिकै रहेकी हजुरआमालाई बोलाउन भन्दै केहीबेरका लागि उनीहरूलाई त्यहीँ छाडेर गएको र फर्किँदा बालिकाहरू फेला नपरेपछि खोजी सुरु गरिएको थियो। परिवार तथा स्थानीयले व्यापक खोजी गरे पनि भेट्टाउन नसकेपछि राति करिब ११ बजे प्रहरीलाई जानकारी गराइएको थियो।

Advertisement

प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा रातिदेखि खोजतलास जारी रहे पनि आज बिहान निर्माणाधीन पुलको गहिरो खाल्डोमा जमेको पानीभित्र दुवै बालिका मृत अवस्थामा फेला परेका हुन्।

घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान तथा आवश्यक मुचुल्का तयार गरेको छ। दुवै बालिकाको शव परीक्षण (पोस्टमार्टम) का लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

स्थानीयवासीका अनुसार पुल निर्माणका क्रममा खनिएको गहिरो खाल्डोमा वर्षाको पानी जमेको थियो। निर्माणस्थलमा सुरक्षा बार, जाली वा चेतावनीमूलक सूचना नराखिएकाले खेल्ने क्रममा बालिकाहरू खाल्डोमा खसेर डुबेको हुन सक्ने आशंका गरिएको छ।

घटनापछि स्थानीयले निर्माण व्यवसायी तथा सम्बन्धित निकायको गम्भीर लापरवाही रहेको आरोप लगाउँदै आक्रोश व्यक्त गरेका छन्। विकास निर्माणका नाममा खनिएका खाल्डाखुल्डीलाई लामो समयसम्म असुरक्षित अवस्थामा छाड्ने प्रवृत्तिले यस्ता दुःखद घटना दोहोरिने गरेको भन्दै जिम्मेवार पक्षमाथि कानुनी कारबाही र भविष्यमा यस्ता दुर्घटना रोक्न प्रभावकारी सुरक्षा व्यवस्था गर्न उनीहरूले माग गरेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साले घटनाको वास्तविक कारणबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ। घटनासँग सम्बन्धित सबै पक्षको भूमिका छानबिन गरी कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *