Categories समाचार

नारायणी अस्पताल घटनाक्रममा समन्वय गरिरहेका वडाध्यक्ष पक्राउ

वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट तथा तोडफोड घटनाका सम्बन्धमा सोधपुछ गर्न चतुर्वेदीलाई पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।

वडाध्यक्ष आशुतोष चतुर्वेदीलाई महानगरपालिका कार्यालय परिसरबाट प्रहरीले पक्राउ गरेपछि महानगरका सबै वडाध्यक्षहरूले त्यसको विरोध गरेका छन्। उनीहरूले पक्राउलाई जनप्रतिनिधिमाथिको हस्तक्षेपको रूपमा टिप्पणी गर्दै तत्काल रिहाइको माग गरेका छन्।

Advertisement

साउन १२ गते संयुक्त विज्ञप्ति जारी गर्दै वडाध्यक्षहरूले नगरवासीको समस्या समाधान र जनप्रतिनिधिको जिम्मेवारी निर्वाह गरिरहेका बेला वडाध्यक्ष चतुर्वेदीलाई नियन्त्रणमा लिनु दुःखद र आपत्तिजनक भएको बताएका छन्। उनीहरूले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै पक्राउ परेका वडाध्यक्षलाई अविलम्ब रिहा गर्न माग गरेका छन्।

Advertisement

विज्ञप्तिअनुसार साउन ९ गते नारायणी अस्पतालमा उपचारका क्रममा वीरगन्ज महानगरपालिका वडा नम्बर २४ का राजकुमार कुर्मीको मृत्यु भएपछि उत्पन्न परिस्थितिमा पीडित परिवारलाई न्याय दिलाउने तथा विवाद समाधानका लागि स्थानीय प्रशासनसँग समन्वय र सहजीकरणको भूमिका निर्वाह भइरहेको थियो। सोही क्रममा वडाध्यक्ष चतुर्वेदीलाई महानगरपालिका परिसरबाट पक्राउ गरिएको उनीहरूको भनाइ छ।

वडाध्यक्षहरूले जनप्रतिनिधिमाथि गरिएको पक्राउको घटनालाई स्वीकार गर्न नसकिने उल्लेख गर्दै तत्काल रिहाइ नभए साउन १३ गतेदेखि चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *