Categories समाचार

मन दुखेर होइन, गोली चलेर ज्यान गयो

वीरगंज । नेकपा (एमाले) नेतृ तथा पूर्वमन्त्री भगवती न्यौपानेले सुनसरी घटनासम्बन्धी प्रधानमन्त्रीले सार्वजनिक गरेको स्टाटसमाथि तीव्र प्रतिक्रिया दिएकी छन्।

प्रधानमन्त्रीले ‘सामान्य घटनामा मन दुखेको कुराबाट आक्रोशित हुँदा ज्यान गुम्ने अवस्था पुग्यो’ भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै न्यौपानेले त्यसलाई घटनालाई तोडमरोड गर्ने, दोष अरूमाथि थोपर्ने र जनतालाई भ्रममा पार्ने प्रयास भएको आरोप लगाएकी छन्। उनले ज्यान जानुको कारण ‘मन दुख्नु’ नभई प्रहरीले गोली चलाउनु भएको दाबी गर्दै घटनाको वास्तविक जिम्मेवारी सरकारले लिनुपर्ने बताएकी छन्।

Advertisement

प्रधानमन्त्रीले ‘नागरिकका रूपमा दुखी छु’ भन्ने अभिव्यक्तिमार्फत प्रधानमन्त्रीका रूपमा लिनुपर्ने जिम्मेवारीबाट पन्छिन खोजेको टिप्पणी पनि उनले गरेकी छन्। सरकार घटनाको सुरुवातदेखि नै उपस्थित रहेको स्वीकार गर्ने हो भने गोली चलाउनुपर्ने अवस्था किन आयो ? विद्युत लाइन काटिएपछि मात्र गोली किन चलाइयो ? भन्ने प्रश्नको जवाफ दिनुपर्ने उनको भनाइ छ।

Advertisement

न्यौपानेले सुनसरी र मोरङमा त्यसपछिका हिंसा, आगजनी, निजी सम्पत्तिमा भएको क्षति र घाइतेहरूको अवस्थाको जिम्मेवारी पनि सरकारले लिनुपर्ने बताएकी छन्। केवल सुरक्षाकर्मीलाई दोष दिएर सरकार उम्कन खोज्नु उचित नहुने उनको तर्क छ।

प्रधानमन्त्रीले दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाइसकेको अवस्थामा पहिल्यै दोषी र निर्दोषको ठहर गरिसकेपछि छानबिन समितिको औचित्य के रहन्छ ? भन्दै उनले प्रश्न उठाएकी छन्।

यद्यपि, भविष्यमा यस्ता घटना दोहोरिन नदिन सरकारले ठोस कदम चाल्ने प्रतिबद्धतामा भने आफूले समर्थन गर्ने उनले उल्लेख गरेकी छन्। देश साझा भएकाले सरकारले गर्ने असल काममा आफ्नो समर्थन रहने, तर समाजलाई थप तनाव र हिंसातर्फ धकेल्ने कुनै पनि प्रयास स्वीकार्य नहुने न्यौपानेको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *