Categories समाचार

बारा प्रहरीको आन्तरिक सरुवामा आर्थिक चलखेलको आरोप, प्रशासन शाखामाथि प्रश्न

Advertisement

वीरगंज । जिल्ला प्रहरी कार्यालय बारामा हालै गरिएको आन्तरिक सरुवालाई लिएर आर्थिक चलखेल भएको आरोप सार्वजनिक भएको छ। प्रहरी स्रोतका अनुसार कर्मचारी प्रशासन शाखाबाट गरिएको सरुवामा केही प्रहरी कर्मचारीसँग रकमको बार्गेनिङ गरी आकर्षक तथा आम्दानी हुने युनिटमा खटाइएको दाबी गरिएको छ।

गत असार २१ गते प्रहरी जवानदेखि वरिष्ठ प्रहरी हवल्दारसम्म तथा साउन ४ गते प्रहरी सहायक निरीक्षक (असई) देखि वरिष्ठ प्रहरी नायव निरीक्षक (सई) सम्मको आन्तरिक सरुवा गरिएको थियो। उक्त सरुवामा ३७ जना प्रहरी कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको थियो।

Advertisement

तर, सरुवा प्रक्रियामा निष्पक्षता कायम नभएको भन्दै केही प्रहरी कर्मचारीले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूका अनुसार कर्मचारी प्रशासन शाखाले सरुवाका क्रममा आर्थिक प्रभावलाई प्राथमिकता दिएको, रकम दिने कर्मचारीलाई रोजाइका युनिटमा पठाइएको तथा रकम नदिनेहरूलाई अन्यत्र खटाइएको आरोप लगाइएको छ।

Advertisement

प्रहरी स्रोतका अनुसार प्रशासन शाखाको जिम्मेवारी सम्हालिरहेका प्रहरी निरीक्षक प्रकाश खड्कामाथि सरुवा मिलाइदिने नाममा आर्थिक लाभ लिएको आरोप लागेको हो। स्रोतले केही साना दर्जाका प्रहरी कर्मचारीलाई इच्छाअनुसारको प्रहरी चौकीमा पठाइदिने आश्वासनसमेत दिइएको दाबी गरेको छ।

बारा जिल्ला प्रहरी कार्यालयअन्तर्गत ५२ वटा प्रहरी युनिट सञ्चालनमा रहे पनि पछिल्लो सरुवामा १३ वटा प्रहरी चौकीमा मात्र व्यापक हेरफेर गरिएको बताइएको छ। तीमध्ये केही युनिटमा सरुवा आर्थिक प्रभावका आधारमा भएको प्रहरी स्रोतको दाबी छ।

यसैबीच, सर्लाही सरुवा भइसकेका प्रहरी जवान वृजलाल प्रसाद यादवलाई हालसम्म रमाना नदिई इलाका प्रहरी कार्यालय अमलेखगञ्जमा कार्यरत राखिएको तथा प्रहरी जवान अर्जुन सहनीलाई इलाका प्रहरी कार्यालय जितपुरमा घुमुवा ड्युटीमा खटाइएको विषय पनि चर्चामा आएको छ। स्रोतका अनुसार यी निर्णयहरू पनि प्रशासनिक सेटिङका आधारमा गरिएको आरोप छ।

प्रहरी वृत्तभित्रका केही स्रोतले आकर्षक आम्दानी हुने प्रहरी चौकी, अस्थायी प्रहरी पोस्ट तथा इलाका प्रहरी कार्यालयमा इन्चार्ज तथा अन्य कर्मचारी खटाउँदा निश्चित रकम असुल्ने गरिएको दाबी गरेका छन्। विशेषगरी पथलैया, मटिअर्वा, मुर्सहर्वा र अमलेखगञ्जजस्ता युनिटमा सरुवाका लागि १५ हजारदेखि २५ हजार रुपैयाँसम्म लेनदेन हुने गरेको आरोप स्रोतले लगाएको छ।

यद्यपि, यी आरोपबारे जिल्ला प्रहरी कार्यालय बारा तथा प्रहरी निरीक्षक खड्काको आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन। आरोपहरूको स्वतन्त्र पुष्टि हुन बाँकी रहेकाले सम्बन्धित निकायबाट निष्पक्ष छानबिनको मागसमेत उठ्न थालेको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *