Categories समाचार

नारायणी अस्पताल प्रकरण: वडाध्यक्ष पक्राउप्रति सिंहको असन्तुष्टि, ‘संवादभन्दा नियन्त्रण रोजियो’

वीरगञ्ज । वीरगंज महानगरपालिकाका प्रमुख (हाल निलम्बित) राजेशमान सिंहले नारायणी अस्पतालमा उपचारका क्रममा भएको भनिएको लापरवाहीका कारण एक नागरिकको मृत्यु भएको घटनालाई अत्यन्त दुःखद, संवेदनशील र गम्भीर विषय भएको बताएका छन्। उनले मृतक र उनका परिवारले निष्पक्ष छानबिन तथा न्याय पाउने अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन्।

सिंहले यस्ता घटनामा जनताको आवाज उठाउनु जनप्रतिनिधिको संवैधानिक र नैतिक दायित्व भएको उल्लेख गर्दै त्यसलाई अपराधका रूपमा व्याख्या गर्न खोजिनु गलत भएको बताए।
आफ्नो सामाजिक सञ्जाल फेसबुकमा धारणा ब्यक्त गर्दै उनले यस्तो बताएका हुन् ।

Advertisement

उनले नागरिकको पक्षमा आवाज उठाएकै कारण वीरगञ्ज महानगरपालिका वडा नं. २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीलाई महानगरपालिकाकै नेतृत्वको कार्यकक्षबाट प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। “जनप्रतिनिधिले आफ्ना नागरिकको न्यायका लागि बोल्नु पर्ने हो, चुप लागेर बस्नुपर्ने होइन,” उनले भनेका छन्।

Advertisement

घटनाको समाधान संवाद र सहमतिमार्फत खोजिनुपर्नेमा जोड दिँदै नेतृत्वले तत्काल परिस्थिति नियन्त्रण गरी संवादको वातावरण बनाउन नसक्नु दुःखद भएको पनि बताए।

उनले प्रश्न उठाउँदै भनेका छन्, “के नागरिकको न्यायको माग उठाउनु नै पक्राउको आधार हो? पर्सा प्रहरीको यस्तो व्यवहार कुन कानुनी आधारमा भएको हो? यसबारे स्पष्ट जवाफ दिन आवश्यक छ।”

उनले नागरिकको मृत्युजस्तो संवेदनशील घटनापछि आक्रोश र वादविवाद उत्पन्न हुनु स्वाभाविक भएको उल्लेख गर्दै राज्यका निकायले संयमता अपनाउनुपर्ने धारणा राखेका छन्। मृत्युबाट भएको क्षति कुनै पनि माध्यमबाट पूर्ति हुन नसक्ने भएकाले सबै पक्षले संवेदनशीलता र जिम्मेवारीका साथ व्यवहार गर्नुपर्ने उनको भनाइ छ।

यद्यपि सिंहले चिकित्सकमाथि भएको दुर्व्यवहारलाई उचित ठहर गर्न नसकिने स्पष्ट पारेका छन्। “यदि चिकित्सकबाट लापरवाही भएको हो भने कानुनी प्रक्रियाअनुसार अनुसन्धान र कारबाही हुनुपर्छ, तर हातपात र दुर्व्यवहार समाधानको माध्यम हुन सक्दैन,” उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *