वीरगंज । गुरु पूर्णिमाको अवसरमा आचार्य एकेडेमी, वीरगंज–३ मा विद्यार्थीहरूको सक्रिय आयोजनामा सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
विद्यालयका प्रधानाध्यापक मो. सगीर अलीको अध्यक्षतामा आयोजित कार्यक्रममा विद्यार्थीहरूले आफ्ना गुरुहरूलाई टीका, माला तथा सम्मानपत्र प्रदान गरी सम्मान व्यक्त गरेका थिए। कार्यक्रममा स्वागत मन्तव्य, कविता वाचन, प्रेरणादायी अभिव्यक्ति, गीत, नृत्यलगायत विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो।
समारोहलाई सम्बोधन गर्दै प्रधानाध्यापक मो. सगीर अलीले गुरु पूर्णिमा ज्ञान, संस्कार, अनुशासन र सम्मानको भावनालाई सुदृढ बनाउने महत्वपूर्ण अवसर भएको बताउनुभयो। उहाँले शिक्षक र विद्यार्थीबीचको सम्बन्ध विश्वास, सम्मान र निरन्तर सिकाइमा आधारित हुनुपर्नेमा जोड दिँदै यस्ता कार्यक्रमले विद्यार्थीहरूको नेतृत्व क्षमता, सिर्जनशीलता र गुरुहरूप्रतिको सम्मान झल्काएको उल्लेख गर्नुभयो।
कार्यक्रम सफल बनाउन योगदान पुर्याउने विद्यार्थी, शिक्षक–शिक्षिका तथा सहयोगी सबैप्रति धन्यवाद व्यक्त गर्दै उहाँले यस्ता मूल्यपरक तथा सिर्जनात्मक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा शिक्षक–शिक्षिका, विद्यार्थी तथा अन्य आमन्त्रितहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विद्यार्थीहरूले प्रस्तुत गरेका विविध सांस्कृतिक कार्यक्रममार्फत गुरु पूर्णिमाको महत्वलाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको आयोजकले जनाएको छ।
कार्यक्रम सहभागी सबैप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि यस्ता शैक्षिक, सांस्कृतिक तथा मूल्यमा आधारित गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धतासहित सम्पन्न भएको विद्यालयले जनाएको छ।


