विराटनगर । मोरङ प्रहरीले सामूहिक जबरजस्ती करणी घटनामा पीडित बालिकाको परिवारको वास्तविक परिचय खुल्ने गरी भिडियो समाचार प्रसारण गरेको आरोपमा एक सञ्चारकर्मीलाई पक्राउ गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार सुनवर्षी नगरपालिकामा भएको सामूहिक जबरजस्ती करणी घटनासम्बन्धी समाचार Koshi Aawaj नामक अनलाइन मिडियाको फेसबुकमार्फत प्रसारण गर्ने आफूलाई सञ्चारकर्मी बताउने चन्दन कुमार पासवानलाई पीडित पक्षको उजुरीका आधारमा पक्राउ गरिएको हो।
प्रहरीका अनुसार पासवानलाई साउन १३ गते पक्राउ गरी अदालतबाट म्याद थप अनुमति लिई इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले अनुसन्धानलाई प्रभावित पार्ने तथा पीडितको गोपनीयता उल्लङ्घन हुने गरी समाचार सम्प्रेषण गरिएको आरोपमा कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्।


