वीरगंज । बृहस्पति फाउन्डेसन नेपालको आयोजनामा गुरु पूर्णिमाको अवसरमा वीरगंजस्थित माइस्थान मन्दिर पार्कमा “गुरु पूर्णिमा महोत्सव–२०८३” भव्य रूपमा सम्पन्न भएको छ। गुरुप्रतिको श्रद्धा, सम्मान तथा आध्यात्मिक चेतनाको अभिवृद्धि गर्ने उद्देश्यले आयोजित महोत्सवमा धर्मप्रेमी, समाजसेवी, शिक्षक, पत्रकार तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको अध्यक्षता भोजपुरी समाज वीरगंजका अध्यक्ष धुर्व सिंह ठाकुरीले गरेका थिए भने वरिष्ठ समाजसेवी मुर्लीधर रुङटा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रमको सञ्चालन बृहस्पति फाउन्डेसन नेपालका अध्यक्ष डा. पुरुषोत्तम दुबेले गरेका थिए।
समारोहमा उद्योगपति अशोक वैद्य, शिक्षाविद् राजेन्द्र सिंह, प्याब्सन पर्साका जिल्ला अध्यक्ष सरोज प्रसाद, एन–प्याब्सन वीरगंज नगर अध्यक्ष जियालाल गुप्ता, पूर्वमन्त्री ओमप्रकाश शर्मा, समाजसेवी प्रकाश उपाध्याय, डा. अनिल झा, गहवामाई तीर्थ क्षेत्र विकास समितिका सचिव पप्पु गुप्तालगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
महोत्सवमा भजन–कीर्तन तथा भक्तिमय सांगीतिक प्रस्तुति प्रस्तुत गरिएको थियो। कार्यक्रममा गुरु–शिष्य परम्पराको महत्व, सनातन संस्कृतिको संरक्षण तथा आध्यात्मिक जीवनशैलीबारे प्रेरणादायी सन्देश पनि प्रवाह गरिएको आयोजकले जनाएको छ। यस अवसरमा शिक्षा, पत्रकारिता, सामाजिक सेवा लगायत विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई खादा ओढाई सम्मानपत्रसहित सम्मान गरिएको थियो। सम्मानित व्यक्तिहरूको योगदान समाजका लागि प्रेरणादायी रहेको आयोजकको भनाइ थियो।
कार्यक्रमलाई सफल बनाउन फाउन्डेसनका सकोषाध्यक्ष चन्दन प्रजापति, धिरज साह, विभा साह, रजनीकान्त दुबेलगायतले सक्रिय भूमिका निर्वाह गरेका थिए। कार्यक्रमको समापनपछि उपस्थित श्रद्धालुहरूलाई प्रसाद वितरण गरिएको थियो। आयोजकका अनुसार महोत्सवले धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक एकताको सन्देश प्रवाह गर्दै गुरु–शिष्य परम्पराको महत्वलाई थप उजागर गरेको छ।


