वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–१४ पिपरा चिनिमिलमा कुटपिटबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न आरोपितमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ भने अर्काको खोजी भइरहेको छ।
प्रहरीका अनुसार गत असार ३१ गते सडक विस्तारका क्रममा भत्किएको घरको इँटा हटाउने विषयमा विवाद भएको थियो। विवाद चर्किएपछि स्थानीय अन्दाजी ५० वर्षीया लिलावती देवीमाथि मनोज प्रसाद कुर्मी र लक्की प्रसाद पटेलले कुटपिट गरेका थिए।
घटनापछि घाइते लिलावतीलाई उपचारका लागि नारायणी अस्पतालमा भर्ना गरिएको थियो। उपचारपछि डिस्चार्ज भए पनि साउन १४ गते साँझ अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई पुनः सोही अस्पताल लगिएको थियो। उपचारकै क्रममा साँझ ७:२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
घटनाको जानकारी प्राप्त भएपछि प्रहरी चौकी गण्डकबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा खटिएको टोलीले आरोपित लक्की प्रसाद पटेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ। फरार रहेका मनोज प्रसाद कुर्मीको खोजी जारी रहेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




