Categories समाचार

पाँच वर्षमा ११०० बढीलाई निःशुल्क कृत्रिम हात–खुट्टा, रोटरीको पुनर्स्थापना अभियान निरन्तर

वीरगञ्ज । रोटरी डायग्नोस्टिक सेन्टर, वीरगञ्जद्वारा सञ्चालित रोटरी महावीर जयपुर फुट पुनर्स्थापना केन्द्रले निःशुल्क कृत्रिम हात तथा खुट्टा वितरण कार्यक्रम सम्पन्न गरेको छ। केन्द्रले आर्थिक अवस्था कमजोर भएका तथा दुर्घटना वा अन्य कारणले अंग गुमाएका व्यक्तिहरूलाई कृत्रिम अंग उपलब्ध गराउँदै पुनः सामान्य जीवनयापनमा फर्काउन सहयोग गर्दै आएको जनाएको छ।

वीरगञ्ज महानगरपालिका–४ स्थित नारायणी अस्पताल पछाडि रहेको रोटरी डायग्नोस्टिक सेन्टरबाट सञ्चालन भइरहेको यस परियोजना सन् २०२१ देखि निरन्तर सञ्चालनमा रहेको छ। परियोजनाका संयोजक डा. शाश्वत प्रसादका अनुसार हालसम्म ११०० भन्दा बढी व्यक्तिलाई निःशुल्क कृत्रिम हात तथा खुट्टा उपलब्ध गराइसकिएको छ।

Advertisement

बिहीबार आयोजित कार्यक्रममा पाल्पा र पोखरा क्षेत्रबाट आएका चार जना अपाङ्गता भएका व्यक्तिलाई कृत्रिम हात तथा खुट्टा जडान गरी हस्तान्तरण गरिएको थियो।

Advertisement

लाभग्राहीमध्ये पूर्व भारतीय सेनाका दिलबहादुर बुढाथोकीले भारत–पाकिस्तान सीमामा ड्युटीका क्रममा भएको घात (एम्बुस) मा परी खुट्टा गुमाएको बताए। वसन्तबहादुर र रुकबहादुरले दुर्घटनामा खुट्टा गुमाएका थिए भने माधव डिसाले दुर्घटनाका कारण आफ्नो हात गुमाएका थिए। कृत्रिम अंग प्राप्त गरेपछि चारै जनाले रोटरी परिवारप्रति आभार व्यक्त गर्दै यसले आफ्नो जीवनमा नयाँ आशा र आत्मविश्वास थपेको प्रतिक्रिया दिएका थिए।

कार्यक्रम रोटरी क्लब अफ वीरगञ्जका नवनिर्वाचित अध्यक्ष रोटेरियन राकेश मिश्रको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा परियोजनाका संयोजक डा. शाश्वत प्रसाद, रोटरी क्लब अफ वीरगञ्जका सदस्य डा. आनन्द कुमार झा, रोटेरियन अभिषेक चौधरी तथा अन्य रोटेरियनहरूको उपस्थिति रहेको थियो।

रोटरी महावीर जयपुर फुट पुनर्स्थापना केन्द्रले भविष्यमा पनि यस्ता सेवा विस्तार गर्दै कृत्रिम अंगको आवश्यकता भएका व्यक्तिहरूलाई निःशुल्क सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *