धार्मिक सद्भावको रक्षा: सरकार, मिडिया, प्रशासन र नागरिकको साझा जिम्मेवारी
धर्म कुनै आराध्य वा आस्थाको विषय मात्र होइन, यो मानव जीवनलाई सभ्य, नैतिक र सन्तुलित ढङ्गले जिउने जीवनशैली पनि हो। धर्मको वास्तविक सार सत्य, मानवता, नैतिकता, सहिष्णुता र सामाजिक व्यवस्थामा निहित हुन्छ। त्यसैले धर्मको नाममा जब द्वन्द्व, घृणा वा हिंसा उत्पन्न हुन्छ, त्यहाँ धर्मभन्दा बढी मानवताको क्षति, सत्यको पराजय, सामाजिक सन्तुलनको विघटन र कानुनी शासनको कमजोरी प्रकट हुन्छ।
नेपालको सामाजिक पूंजी : धार्मिक सहिष्णुता र सामाजिक सद्भाव
नेपाल प्राचीनकालदेखि नै हिन्दू बहुल राष्ट्र भए पनि यहाँ विभिन्न धर्म, संस्कृति र समुदायबीच धार्मिक सहिष्णुता तथा आपसी सम्मानको गौरवशाली परम्परा रहँदै आएको छ। यही कारण नेपाल प्राकृतिक सुन्दरताका साथै धार्मिक सहअस्तित्व र सामाजिक सद्भावका लागि पनि परिचित छ। विभिन्न धर्म, संस्कृति र सम्प्रदायका नागरिकहरूको साझा पहिचान भनेको नेपाल हो। यही साझा पहिचानलाई सुरक्षित राख्नु हामी सबैको सामूहिक दायित्व हो।
धार्मिक सहिष्णुता नेपालको अमूल्य सामाजिक पूँजी हो। यस्तो पूँजी निर्माण गर्न वर्षौं लाग्छ, तर नष्ट हुन केही क्षण मात्र पर्याप्त हुन्छ। त्यसैले धार्मिक रूपमा संवेदनशील समाजमा समय-समयमा तनाव वा द्वन्द्वको सम्भावना रहन्छ। यस्ता परिस्थितिमा राज्य, प्रशासन, सञ्चारमाध्यम र नागरिक—यी चारै पक्षको भूमिका समान रूपमा महत्त्वपूर्ण हुन्छ।
सरकारको पहिलो दायित्व: निष्पक्षता र कानुनी शासन
धार्मिक विवाद समाधानका लागि राज्यले पूर्ण निष्पक्षता, पारदर्शिता र कानुनको समान कार्यान्वयन सुनिश्चित गर्नुपर्छ। द्वन्द्व नियन्त्रण गर्नु मात्र होइन, द्वन्द्व हुनै नदिनु राज्यको पहिलो दायित्व हो। त्यसका लागि सामुदायिक संवाद, प्रारम्भिक चेतावनी प्रणाली (Early Warning System) र सबै धर्म तथा समुदायका सम्मानित व्यक्तिहरूको सहभागितामा शान्ति समिति गठन गर्न आवश्यक हुन्छ।
यदि अवस्था अत्यन्त अनियन्त्रित भई निर्दोष नागरिकको जीवन र सुरक्षामा गम्भीर खतरा उत्पन्न हुन्छ भने कानुनअनुसार आवश्यक र समानुपातिक बल प्रयोग गर्नु पनि सरकारको संवैधानिक दायित्व हुन सक्छ। तर यस्तो कदम सधैं अन्तिम विकल्प हुनुपर्छ र त्यसमा कुनै पनि प्रकारको पक्षपात स्वीकार्य हुनु हुँदैन।
द्वन्द्वपछिको क्षति मूल्याङ्कन, राहत, पुनर्स्थापना, मेलमिलाप तथा दोषीमाथि निष्पक्ष कानुनी कारबाही गर्नु पनि सरकारकै जिम्मेवारी हो। अपराधीलाई धर्म, जात, सम्प्रदाय वा राजनीतिक आस्थाका आधारमा होइन, केवल अपराधका आधारमा कानुनी दायरामा ल्याइनुपर्छ।
धार्मिक सहिष्णुता: नेपालको सामाजिक पूंजी जोगाउने समय
प्रशासन र सुरक्षा निकायको भूमिका यस्ता परिस्थितिमा अत्यन्त संवेदनशील हुन्छ। उनीहरूको पहिलो प्राथमिकता संवाद, भीड व्यवस्थापन, तनाव न्यूनीकरण र नागरिकको सुरक्षा हुनुपर्छ। बल प्रयोग जहिले पनि अन्तिम विकल्पका रूपमा मात्र प्रयोग गरिनुपर्छ।
सबै समुदायसँग निरन्तर संवाद कायम राख्दै विश्वास निर्माण गर्नु, अनुसन्धान र कारबाहीमा निष्पक्षता अपनाउनु तथा कानुनको समान कार्यान्वयन सुनिश्चित गर्नु प्रशासनको मूल दायित्व हो। राज्यप्रतिको नागरिकको विश्वास धेरै हदसम्म प्रशासनको व्यवहारबाट निर्माण हुन्छ।
मिडियाको दायित्व : तथ्यमा आधारित जिम्मेवार पत्रकारिता
लोकतन्त्रमा मिडिया सरकार र समाजबीचको विश्वासको महत्वपूर्ण सेतु हो। धार्मिक संवेदनशीलतासँग जोडिएका घटनामा अपुष्ट समाचार, उत्तेजक शीर्षक वा घृणा फैलाउने सामग्री प्रसारण गर्नु पत्रकारिताको धर्म होइन। तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्नु जिम्मेवार पत्रकारिताको आधारभूत मूल्य हो।
सामाजिक सञ्जालमा फैलिने अफवाहको तथ्य-जाँच गरी सही सूचना जनतासम्म पुर्याउनु, शान्ति र सहअस्तित्वका प्रयासलाई प्राथमिकता दिनु तथा सरकार, प्रशासन र नागरिकबीच विश्वासको वातावरण निर्माण गर्नु मिडियाको महत्वपूर्ण दायित्व हो।
नागरिकको जिम्मेवारी : अफवाह होइन, सत्यको साथ्
धार्मिक सद्भाव कायम राख्ने सबैभन्दा ठूलो जिम्मेवारी नागरिककै काँधमा हुन्छ। सरकार, प्रशासन र मिडिया त्यतिबेला कमजोर बन्छन्, जब नागरिक स्वयं अफवाह, घृणा र भ्रामक सूचनाको प्रभावमा पर्छन्।
डिजिटल युगमा सामाजिक सञ्जाल सूचना आदानप्रदानको प्रभावकारी माध्यम बनेको छ, तर यही माध्यम अफवाह र घृणा फैलाउने साधन पनि बन्न सक्छ। त्यसैले कुनै पनि अपुष्ट सामग्रीलाई तुरुन्त विश्वास वा साझा गर्नु हुँदैन। तथ्य पुष्टि गर्नु, कानुनको सम्मान गर्नु, हिंसामा सहभागी नहुनु तथा स्थानीय शान्ति र मेलमिलापका प्रयासमा सक्रिय सहयोग गर्नु प्रत्येक नागरिकको कर्तव्य हो।
सरकारले पनि सामाजिक सञ्जालमार्फत हिंसा उक्साउने, घृणा फैलाउने वा तथ्यहीन सामग्री प्रसारण गर्नेहरूमाथि कानुनअनुसार शीघ्र र निष्पक्ष कारबाही गर्नुपर्छ। तर यस्तो कारबाही अभिव्यक्ति स्वतन्त्रता र विधिसम्मत प्रक्रियाको सम्मानभित्रै सीमित हुनुपर्छ।
स्थायी समाधान संवादबाट मात्र सम्भव
हामीले सधैं सम्झनुपर्छ—हिंसाको उत्तर हिंसा हुन सक्दैन। हिंसाले केवल अर्को हिंसालाई जन्म दिन्छ। धार्मिक विवादको दीर्घकालीन समाधान संवाद, सहिष्णुता, कानुनी शासन र आपसी विश्वासबाट मात्र सम्भव हुन्छ। सरकारले अपराधीप्रति कठोर तर निष्पक्ष व्यवहार गर्नुपर्छ भने निर्दोष नागरिकको सुरक्षा सर्वोच्च प्राथमिकतामा राख्नुपर्छ।
हरेक हिंसात्मक घटनाबाट राज्यले पाठ सिक्नुपर्छ। सुरक्षा संयन्त्रका कमजोरी पहिचान गरी भविष्यमा यस्ता घटना दोहोरिन नदिने प्रभावकारी नीति र कार्यान्वयन प्रणाली विकास गर्नु आजको आवश्यकता हो। विविध धर्म, संस्कृति र समुदायले बनेको समाजमा धार्मिक सद्भाव कायम राख्नु केवल कानुनी विषय मात्र होइन, राष्ट्रिय एकताको आधार पनि हो।
अन्त्यमा, एउटा सत्य कहिल्यै बिर्सनु हुँदैन —हिंसामा प्रयोग हुने हतियारले न धर्म चिन्छ, न जात, न सम्प्रदाय, न वर्ग, न गरिब, न धनी। यसको सबैभन्दा ठूलो पीडा सधैं निर्दोष नागरिकले भोग्छन्। त्यसैले अफवाह, घृणा र हिंसाको बाटो त्यागेर राज्य, प्रशासन, मिडिया र नागरिक सबैले साझा जिम्मेवारीका साथ शान्ति, सहिष्णुता र कानुनी शासनलाई सुदृढ बनाउनुपर्छ। तोडफोड, बन्द, हडताल र दङ्गाले कहिल्यै स्थायी शान्ति स्थापना गर्न सक्दैनन्। नेपालको वास्तविक शक्ति यसको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र विविधताबीचको एकतामा निहित छ। यही अमूल्य सम्पदाको संरक्षण गर्नु आजको सबैभन्दा ठूलो राष्ट्रिय दायित्व हो।
कुनै पनि हिंसात्मक घटना कानुनअनुसार निष्पक्ष अनुसन्धान र कारबाहीको विषय हुनुपर्छ। तर त्यस्ता घटनालाई सम्पूर्ण समुदायविरुद्ध घृणा फैलाउने माध्यम बनाउनु नेपालको सामाजिक एकता, राष्ट्रिय सद्भाव र लोकतान्त्रिक मूल्य-मान्यतामाथिको गम्भीर आक्रमण हुनेछ।
दिपेश कुमार कर्ण उप-प्राध्यापक,मधेश विश्वविद्यालय दर्शनाचार्य अध्येता,पूर्वान्चल विश्वविद्यालय


