Categories समाचार

व्यक्तिगत विवादलाई धार्मिक रंग नदिन पर्सा प्रहरीको आग्रह

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–२, ईदगाहा चोकस्थित भित्री सडकमा भएको झै–झगडाको घटनामा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार साउन १५ गते साँझ करिब ७:३५ बजे वीरगंज–२ निवासी १८ वर्षीय समिर अन्सारीले विगतको व्यक्तिगत विवादका कारण वीरगंज–१६, इनर्वागाउँ निवासी १८ वर्षीय रञ्जित यादवमाथि हातपात गरेका थिए। घटनामा घाइते भएका रञ्जित यादवको ओठ र नाकमा चोट लागेको प्रहरीले जनाएको छ। उनलाई तत्काल प्रभु अस्पतालमा उपचारका लागि लगिएको र उपचार भइरहेको छ।

Advertisement

प्रहरीले घटनामा संलग्न समिर अन्सारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Advertisement

यसैबीच, घटनाको अनुसन्धान भइरहेको अवस्थामा विभिन्न सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा सामाजिक तथा धार्मिक सद्भाव बिथोल्ने किसिमका भ्रामक समाचार प्रसारण भएको भन्दै जिल्ला प्रहरी कार्यालय पर्साले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रहरीका अनुसार घटनाको सत्यतथ्य अनुसन्धान गरी संलग्न व्यक्तिविरुद्ध कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइसकिएको छ। साथै, सही र तथ्यपरक समाचार सम्प्रेषण गर्न तथा धार्मिक सद्भाव कायम राख्न सहयोग गर्न सञ्चारकर्मी र सर्वसाधारणसँग प्रहरीले आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *