वीरगञ्ज । नेपाल पत्रकार महासंघ पर्सा शाखाले सुनसरी जिल्लामा भएको दुःखद घटनापछि देशका विभिन्न स्थानमा विकसित भइरहेका पछिल्ला घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले विशेषगरी वीरगञ्जसहित विभिन्न क्षेत्रमा भएका घटनालाई अत्यन्तै संवेदनशील रूपमा लिँदै शान्ति, सामाजिक सद्भाव र जिम्मेवार पत्रकारिताको अभ्यास गर्न आग्रह गरेको छ।
शनिबार जारी प्रेस विज्ञप्तिमार्फत महासंघले घटनामा ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।
महासंघले यस्तो संवेदनशील अवस्थामा सञ्चार क्षेत्रको भूमिका सत्यनिष्ठ, संयमित र उत्तरदायी हुनुपर्नेमा जोड दिएको छ। पछिल्ला दिनमा सामाजिक सञ्जालमार्फत अपुष्ट सूचना, भ्रामक सामग्री तथा पुराना तस्बिर र भिडियोलाई जोडेर प्रचारप्रसार गर्ने प्रवृत्ति बढेको भन्दै यसले जनमानसमा भ्रम, त्रास र असुरक्षाको भावना फैलाउनुका साथै सामाजिक सद्भाव र साम्प्रदायिक सहअस्तित्वमा समेत नकारात्मक असर पार्न सक्ने चेतावनी दिएको छ।
विज्ञप्तिमा सम्पूर्ण सञ्चारकर्मी, सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई उच्च संवेदनशीलता, संयम र जिम्मेवारीका साथ प्रस्तुत हुन आग्रह गरिएको छ। समाचार प्रकाशन वा प्रसारणअघि तथ्यको यथार्थ पुष्टि गर्न, आधिकारिक तथा विश्वसनीय स्रोतबाट प्राप्त सूचनालाई मात्र प्राथमिकता दिन र हिंसा, द्वेष, उत्तेजना वा सामाजिक सद्भावमा खलल पुग्ने सामग्रीको प्रचारप्रसार नगर्न महासंघले अनुरोध गरेको छ।
पत्रकारिताको आचारसंहिता, सत्यता, निष्पक्षता, व्यावसायिक मर्यादा र सामाजिक उत्तरदायित्वलाई सर्वोच्च प्राथमिकतामा राखी जिम्मेवार पत्रकारिताको अभ्यास गर्न महासंघले पुनः आग्रह गरेको छ।
महासंघले वर्तमान परिस्थितिको समाधान बल प्रयोग, उत्तेजना वा अफवाहबाट नभई संवाद, सहिष्णुता, कानुनी प्रक्रिया र आपसी समझदारीमार्फत खोजिनुपर्ने स्पष्ट धारणा व्यक्त गर्दै नेपाल सरकार, स्थानीय प्रशासन, राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम तथा सम्बन्धित सबै पक्षलाई संयमता, जिम्मेवारी र सहकार्यका साथ अघि बढ्न आग्रह गरेको छ।



