वीरगञ्ज, साउन १६ । पर्सा प्रहरीले स्रोत नखुलेको प्रतिबन्धित भारतीय मुद्रासहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार शनिबार अपराह्न करिब ३:५० बजे इलाका प्रहरी कार्यालय जानकीटोलाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा जगरनाथपुर गाउँपालिका–२ स्थित नहर सडकखण्डमा ना.१० प ४४६९ नम्बरको मोटरसाइकल रोकी जाँच गरेको थियो।
जाँचका क्रममा मोटरसाइकलमा सवार मकवानपुरको राक्सिराङ गाउँपालिका–२ घर भई हाल चितवनको माडी नगरपालिका–९ हनुमानझुलामा बसोबास गर्ने ४२ वर्षीय दिपेश हिमडुङ र २६ वर्षीय तिलक हिमडुङको साथबाट स्रोत नखुलेको प्रतिबन्धित भारतीय मुद्रा बरामद भएको प्रहरीले जनाएको छ।
बरामद रकममा भारतीय ५०० दरका ३१६ थान (रु. १,५८,०००), २०० दरका ७५ थान (रु. १५,०००) र १०० दरका ३६५ थान (रु. ३६,५००) नोट गरी जम्मा भारतीय रु. २,०९,५०० रहेको प्रहरीले जनाएको छ।
प्रहरीले प्रतिबन्धित भारतीय नोट र मोटरसाइकल बरामद गरी दुवै जनालाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।



