वीरगंज । जनकपुरमा गृहमन्त्री सुधन गुरुङ र आन्दोलनरत हिन्दु धार्मिक मोर्चाका प्रतिनिधिबीच भएको दुई चरणको वार्तापछि सहमति भएको छ। विभिन्न १३ बुँदे माग अघि सार्दै आन्दोलनमा उत्रिएको मोर्चासँग छलफल गर्न गृहमन्त्री शनिबार स्वयं जनकपुर पुगेका थिए।
जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता भूदेव झाले दुवै पक्षबीच सहमति कायम भएको जानकारी दिए। उनका अनुसार आन्दोलनरत पक्षले सरकारसमक्ष १३ बुँदे मागपत्र पेश गरेको थियो।
वार्तापछि १२ वटा माग कार्यान्वयनका लागि सरकारले तत्काल आवश्यक प्रक्रिया अघि बढाउने सहमति भएको छ। नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने मागबारे भने सरकारले थप अध्ययन र आवश्यक प्रक्रियाका लागि तीन महिनाको समय मागेको र त्यसमा आन्दोलनरत पक्षले सहमति जनाएको जनाइएको छ।
वार्तामा जनकपुर उपमहानगरपालिकाका प्रमुख मनोज साह, धनुषाका प्रतिनिधिसभा सदस्य, मधेश प्रदेश सरकारका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारी सहभागी थिए। आन्दोलनरत पक्षबाट एक दर्जनभन्दा बढी धार्मिक संघसंस्थाका प्रतिनिधिहरू उपस्थित भएका थिए।
सुनसरी घटनाको विरोध गर्दै आन्दोलन थालेको मोर्चाले आफ्ना विभिन्न मागसँगै नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग पनि उठाउँदै आएको थियो।
यसअघि शनिबार आयोजित सर्वपक्षीय सद्भाव र्यालीका क्रममा आन्दोलनरत युवाहरूले कार्यक्रमस्थलमै नाराबाजी गरेका थिए। त्यसपछि धनुषा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य मनीष झाले आन्दोलनरत पक्षसँग छुट्टै छलफल गरी वार्ताको वातावरण बनाएका थिए।



