Categories लेख

घृणा होइन, साझा भविष्य रोजौँ

Advertisement

नेपालका हिन्दू र मुस्लिम समुदायलाई नजिक बाट हेर्ने हो भने उनीहरू बीच फरक भन्दा समानता धेरै देखिन्छ। उनीहरूका घरहरू उस्तै छन, आँगन उस्तै छन, जीवनशैली उस्तै छ। उनीहरूले खाने खाना, बोल्ने भाषा, गर्ने पेशा र जीवनका संघर्षहरू पनि धेरै हद सम्म समान छन्। विवाहका संस्कारमा गाइने गीतहरु, वैवाहिक रश्महरु मेहेन्दी देखि जन्ती, बिदाइ, ढोलक र नाचगान सम्म अनेकौं समानता भेटिन्छन।

त्यसो भए यति ठूलो दूरी किन?

Advertisement

मुख्यतः फरक आस्था र धार्मिक विश्वासको हो, जुन बाल्यकाल देखि परिवार र समाज मार्फत सिकाइन्छ। तर के यही एउटा फरकका कारण मानिसले मानिसलाई शत्रु ठान्नु पर्छ ? के एक अर्काको विनाशलाई आफ्नो राजनीति र स्वार्थको आधार बनाउनु उचित हुन्छ?

Advertisement

नेपालको सन्दर्भमा हिन्दू र मुस्लिम समुदायको इतिहास साझा छ, भूगोल साझा छ, सुख–दुःख साझा छन। महँगी, बेरोजगारी, शिक्षा, स्वास्थ्य, गरिबी र असुरक्षा जस्ता समस्याले दुवैलाई समान रूपमा असर गर्छन। त्यसैले यस्ता समस्याहरूको समाधान पनि साझा प्रयास बाटै सम्भव हुन्छ।

तर जब जनता आफ्ना वास्तविक समस्यामा एकजुट हुन्छ, स्वार्थको राजनीति गर्नेहरूको आधार कमजोर हुन्छ। त्यसैले समाजका असंख्य समानतालाई ओझेलमा पारेर केवल धार्मिक भिन्नतालाई ठूलो बनाइन्छ। आस्थाको फरकलाई वैमनस्यको कारण बनाइन्छ र त्यसैको वरिपरि घृणाको राजनीति खडा गरिन्छ।

यसको सबैभन्दा ठूलो मूल्य भने सामान्य नागरिकले चुकाउँछन्। उनीहरू आफ्ना वास्तविक समस्याको समाधान खोज्न छोड्छन, एक अर्कालाई आफ्नो शत्रु ठान्दै आपसमा विभाजित हुन्छन अन्ततः त्यही विभाजन आफ्ना सन्तानलाई पनि विरासतका रूपमा सुम्पिन्छन्।

तपाई मुस्लिम हो अनि मात्र म हिन्दू हूँ नत्र भने साझा रुपमा हामी नेपाली हौ। धर्मलेले फरक परे पनि राष्ट्रीयताले एकात्मकताको बोध गराउछ। हिन्दू सभ्यताले जन्मीने देशलाई आमाको संज्ञा दिन्छ र बाचूनजेल राष्ट्र प्रतिको जिम्मेवारी पूरा गर्नु पनि असल नागरिकको धर्म हो भने कुरो प्रत्येक हिन्दूलाई सिकाउछ। के हामी प्रत्येक धर्म, मजहब या रिलीजन मान्नेले आफ्ना संततीलाई राष्ट्र प्रतिको जिम्मेवारी बोध गराउन सक्षम छैनौ ?

अब समय आएको छ—भावना भन्दा विवेकलाई प्राथमिकता दिने। आफ्नो इतिहास बुझ्ने, वर्तमानको यथार्थ चिन्ने र भविष्य बारे गम्भीरता पूर्वक सोच्ने। घृणाले कसैको भविष्य उज्यालो बनाउँदैन। सद्भाव, संवाद र साझा समस्याको समाधानत तर्फको प्रयासले मात्र समाजलाई समृद्ध बनाउन सक्छ।

आउनुहोस्, घृणा होइन, मानवता रोजौँ। विभाजन होइन, सहअस्तित्व रोजौँ। अनि आफ्ना वास्तविक समस्याको समाधान खोज्दै उज्ज्वल भविष्य निर्माण गरौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *