Categories समाचार

अत्यधिक वर्षाको जोखिम बढ्दै, पर्सा प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

Advertisement

वीरगञ्ज । जिल्ला विपद् व्यवस्थापन समिति, पर्साले अत्यधिक वर्षाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्लावासीलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार अत्यधिक भारी वर्षाका कारण नदी–खोलामा पानीको बहाव बढ्ने तथा होचा भू–भागहरू डुबानमा पर्न सक्ने उच्च जोखिम देखिएकाले प्रशासनले पूर्वतयारी गर्न अनुरोध गरेको हो।

Advertisement

समितिले सुरक्षित उच्च स्थान, सामुदायिक आश्रयस्थल तथा नजिकको खुला क्षेत्रको पहिचान गरी राख्न, स्थानीय प्रशासन र बाढी पूर्वानुमानसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पछ्याउन तथा हल्ला र अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ।

Advertisement

त्यस्तै, नागरिकता, जग्गाधनी प्रमाणपत्र, शैक्षिक प्रमाणपत्रलगायत महत्वपूर्ण कागजातलाई वाटरप्रूफ झोलामा सुरक्षित राख्न तथा चिउरा, चाउचाउ, अत्यावश्यक औषधि, टर्चलाइट, पावरबैंक र स्वच्छ पिउने पानीसहितको ‘इमर्जेन्सी गो–ब्याग’ तयारी अवस्थामा राख्न पनि अनुरोध गरिएको छ।

प्रशासनले बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी तथा अपाङ्गता भएका व्यक्तिको सुरक्षा र उद्धारलाई प्राथमिकता दिन, बाढी पसेका घर तथा पसलमा विद्युतीय दुर्घटनाबाट बच्न मुख्य स्विच बन्द राख्न तथा नदी–खोलामा पानीको बहाव बढेका बेला माछा मार्न, पौडी खेल्न वा काठ–दाउरा संकलनका लागि नदी किनारतर्फ नजान विशेष आग्रह गरेको छ।

मनसुनजन्य विपद्का बेला उद्धार, खोज तथा राहतका लागि नेपाल प्रहरी (१००), सशस्त्र प्रहरी बल (१११४) तथा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (DEOC) पर्सा (१२३४) मा तत्काल सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *