वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले महानगर क्षेत्रभित्र रहेका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको सूचिकरण प्रक्रिया सुरु गरेको छ।
महानगरपालिकाले मंगलबार सूचना जारी गर्दै संस्कृति तथा सम्पदा संरक्षण एवं संवर्द्धन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८० को परिच्छेद ४ को दफा ८ को उपदफा २ (ख) बमोजिम महानगरभित्र रहेका सम्पूर्ण धार्मिक तथा सांस्कृतिक महत्वका मठ, मन्दिर, मस्जिद, चर्च, गुम्बा, गुरुद्वारा, विहार लगायतका सम्पदाको सूचिकरण गरिने जनाएको हो।
सूचनाअनुसार सम्बन्धित सम्पदा व्यवस्थापन समितिले सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र महानगरपालिकाको संस्कृति, पर्यटन तथा सम्पदा संरक्षण शाखामा आवश्यक कागजातसहित निवेदन दर्ता गराउनुपर्नेछ।
सूचिकरणका लागि निवेदन, सञ्चालक समितिका पदाधिकारीहरूको सम्पर्क नम्बर र नागरिकता नम्बर सहितको विवरण, समितिको विधान, सम्पदाको स्वामित्वमा रहेको चल–अचल सम्पत्तिको विवरण तथा सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र पेश गर्नुपर्ने महानगरपालिकाले जनाएको छ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहराद्वारा जारी सूचनामा निर्धारित समयभित्र सम्पदाको विवरण दर्ता गराउन सम्बन्धित सबै पक्षलाई अनुरोध गरिएको छ।



