Categories समाचार

हराभरा वातावरणका लागि सशस्त्र प्रहरी र ग्रीन सिटीको संयुक्त पहल

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१, छपकैया स्थित बबिता पराजुली आधारभूत विद्यालय तथा छठघाट परिसरमा वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साको आयोजना तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रमअन्तर्गत विभिन्न प्रजातिका २०० वटा बिरुवा रोपिएको सशस्त्र प्रहरीले जनाएको छ। वातावरण संरक्षण, हरियाली विस्तार तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सशस्त्र प्रहरीका अधिकृत तथा जवान, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी, विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी र स्थानीयवासीको सहभागिता रहेको थियो।

Advertisement

वृक्षारोपणका क्रममा सहभागीहरूले बिरुवा रोपेर मात्र दायित्व पूरा नहुने भन्दै तिनको नियमित संरक्षण र हेरचाहलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए। स्वच्छ, हराभरा र स्वस्थ वातावरण निर्माण तथा भावी पुस्तालाई सुरक्षित वातावरण हस्तान्तरण गर्न सबैको सक्रिय भूमिका आवश्यक रहेको उनीहरूको भनाइ थियो।

Advertisement

कार्यक्रममा सहभागीहरूले रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साले वातावरण संरक्षण तथा सामाजिक उत्तरदायित्वसँग सम्बन्धित यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने जनाएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *