तराईको गर्मीबाट शीतल पहाडसम्मको अद्भुत यात्रा
भेडेटार नेपालको कोशी प्रदेश अन्तर्गत धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिकामा अवस्थित पूर्वी नेपालको एक प्रसिद्ध, शान्त र अत्यन्त रमणीय पहाडी पर्यटकीय गन्तव्य हो। विराटनगरबाट धरान हुँदै भेडेटार पुग्ने यात्राले नै प्रकृतिको अनुपम सौन्दर्यलाई क्रमशः उद्घाटित गर्दै लैजान्छ। तराईको उष्ण मौसमबाट केही दर्जन किलोमिटर मात्र अघि बढ्दा भेडेटारको सीमामा प्रवेश गर्नेबित्तिकै वातावरणमा आउने परिवर्तन आफैँमा अद्भुत अनुभूति हो। केही समयअघिसम्म करिब ४० डिग्री सेल्सियसको गर्मी महसुस गरिरहेको यात्रुले अचानक चिसो हावा,बाक्लो हरियाली र हुस्सुले ढाकिएको पहाडी वातावरणमा आफूलाई भेट्छ। यही प्राकृतिक रूपान्तरण नै भेडेटारको सबैभन्दा ठूलो आकर्षण हो।
धरानबाट माथि उक्लिँदै जाँदा हरिया वन-जङ्गल,घुमाउरा सडक,उकालो-ओरालो,खोला-झरना र पहाडका मनोरम दृश्यहरूले यात्रालाई गन्तव्यभन्दा पनि बढी स्मरणीय बनाइदिन्छन्। बाटोभरि देखिने प्राकृतिक दृश्यले यात्रुलाई प्रकृतिसँग अझ नजिक हुने दुर्लभ अवसर प्रदान गर्छ।
नामको उत्पत्ति र ऐतिहासिक पृष्ठभूमि
समुद्री सतहबाट करिब १,४२० मिटरको उचाइमा रहेको भेडेटारको इतिहास धेरै पुरानो भने होइन। स्थानीय जनविश्वासअनुसार विगतमा ताप्लेजुङ,तेह्रथुम,सङ्खुवासभालगायतका पहाडी जिल्लाबाट आएका गोठालाहरूले जाडोयाममा आफ्ना भेडाहरू यहीँ चराउने र राख्ने गर्दथे। समथर घाँसे मैदान अर्थात् ‘टार’ मा भेडा राख्ने चलन भएकाले यस स्थानको नाम ‘भेडेटार’ रहन गएको मानिन्छ।
वि.सं.२०४१(सन् १९८४)मा बेलायती युवराज चार्ल्स तृतीयले भेडेटार भ्रमण गरेपछि यस क्षेत्रले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा थप चर्चा पायो। उहाँको भ्रमणको सम्झनामा स्थापना गरिएको ‘चार्ल्स टावर’ आज पनि भेडेटारको ऐतिहासिक आकर्षणमध्ये एक मानिन्छ। त्यसपछि यस क्षेत्रको पर्यटन विकासले क्रमशः गति लियो।
पर्यटन विकासको आधार:सडकदेखि पूर्वाधारसम्म
भेडेटारको विकासमा धरान-धनकुटा राजमार्गको निर्माणले निर्णायक भूमिका खेलेको देखिन्छ। सडक सञ्जाल विस्तारसँगै यात्रुहरूको आगमन बढ्यो,साना चिया पसल र होटलहरू सञ्चालनमा आए,र कालान्तरमा आधुनिक होटल,रिसोर्ट,क्याफे तथा अन्य पर्यटन पूर्वाधारहरूको विकास भयो। आज भेडेटार पूर्वी नेपालको प्रमुख ‘हिल स्टेशन’ का रूपमा स्थापित भइसकेको छ।
प्राकृतिक सौन्दर्य र स्थानीय स्वादको अनुपम संगम
गर्मी मौसममा धरान,इटहरी,विराटनगर तथा सीमावर्ती भारतीय क्षेत्रबाट हजारौँ पर्यटकहरू यहाँ चिसो मौसमको आनन्द लिन,प्राकृतिक दृश्य अवलोकन गर्न र केही समय शान्त वातावरणमा बिताउन आउने गर्छन्। धरान हुँदै भेडेटारको यात्रामा माथिबाट देखिने धरान शहरका नीला छानाहरुले भारतको जयपुरलाई गुलाबी सहर भनिएझैं धरानलाई नीलो सहर भनुकी जस्तो महसूस गराउँछ । बादल र हुस्सु टाउकोमाथिबाट बगिरहेको दृश्य,हरिया डाँडाकाँडा तथा शीतल हावाले यात्रुलाई मानसिक शान्ति,ताजगी र नयाँ ऊर्जा प्रदान गर्छ।
भेडेटारको खानपान संस्कृति पनि उत्तिकै आकर्षक छ। धनकुटे बिस्कुट यहाँको परिचित स्वाद हो भने स्थानीय चियाघरहरूमा इलामको स्वदेशी चिया माटोको भाँडामा पस्किने परम्पराले छुट्टै आकर्षण थपेको छ। धेरै पर्यटकहरूले चिया पिएपछि त्यस माटोको भाँडामा आफ्ना प्रियजनको नाम वा सन्देश लेखेर त्यहीँ छोड्ने गर्छन्,जसले भ्रमणलाई अझ भावनात्मक र स्मरणीय बनाउँछ। सेकुवा लगायतका स्थानीय परिकारहरूले पनि पर्यटकहरूको मन जित्ने गरेका छन्।

संस्कृति,हिमाली दृश्य र दिगो पर्यटनको सम्भावना
भेडेटारमा नेपाली मौलिक संस्कृति र आधुनिक जीवनशैलीको सुन्दर समन्वय देख्न सकिन्छ। यहाँ स्थानीय आतिथ्यता,प्राकृतिक सौन्दर्य,आधुनिक क्याफे संस्कृति,सुविधा सम्पन्न होटल तथा शान्त वातावरणले एकैसाथ उत्कृष्ट अनुभव प्रदान गर्छ। मौसम अनुकूल भएका दिनहरूमा यहाँबाट सगरमाथा,मकालु र कञ्चनजङ्घा हिमालका दृश्यहरू समेत अवलोकन गर्न सकिने विश्वास गरिन्छ।
भेडेटारको पर्यटन सम्भावना अझ व्यापक छ। सडक सञ्जाल, पूर्वाधार, पर्यटकमैत्री सेवा तथा व्यवस्थित पर्यटन योजनामा सरकारले थप लगानी गर्न सके यस क्षेत्रले अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय गन्तव्यका रूपमा अझ ठूलो पहिचान बनाउन सक्छ। तर विकासको नाममा यसको प्राकृतिक सौन्दर्य,जैविक विविधता र पर्यावरणीय सन्तुलनमा कुनै सम्झौता हुनु हुँदैन।
दिगो पर्यटनको मूल आधार नै यसको प्राकृतिक सम्पदाको संरक्षण हो।भेडेटार केवल एउटा पर्यटकीय स्थल मात्र होइन;यो प्रकृतिको शीतलता,सांस्कृतिक आत्मीयता,मानसिक शान्ति र पूर्वी नेपालको गौरवलाई एकै ठाउँमा अनुभव गर्न सकिने अनुपम गन्तव्य हो। त्यसैले यसको संरक्षण,प्रवर्द्धन र दिगो विकास सम्पूर्ण राष्ट्रकै साझा दायित्व हो।

दिपेश कुमार कर्ण
उप-प्राध्यापक,मधेश विश्वविद्यालय दर्शनाचार्य अध्येता,पूर्वान्चल विश्वविद्यालय




