वीरगञ्ज । वीरगञ्जमा स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सोमबार साँझ करिब ६ः३० बजे वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरमा विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले दुई वटा मोटरसाइकल रोकी चेकजाँच गर्दा उक्त रकम बरामद गरेको हो।
प्रहरीले प्रदेश २–०३–००३ प ७२१५ नम्बरको कालो सुपर स्प्लेण्डर र ना.५७ प ५१८२ नम्बरको निलो एफजेड मोटरसाइकलमा सवार चार जनालाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ पर्नेमा भारत बिहारको सितामढी जिल्ला डुमरा–६ का २६ वर्षीय सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिका–१ का ३२ वर्षीय उपेन्द्र साह र २६ वर्षीय सागर कुमार सर्राफ तथा पर्साको विन्दवासिनी गाउँपालिका–१ झौवागुठीका २५ वर्षीय राहुल कुमार गुप्ता रहेका छन्।
प्रहरीका अनुसार उनीहरूको साथबाट १ हजार दरका ४० लाख ५ हजार रुपैयाँ, ५ सय दरका ११ लाख ७६ हजार ५ सय रुपैयाँ, १ सय दरका ६४ हजार ३ सय रुपैयाँ र ५० दरका ४ हजार २ सय रुपैयाँ गरी जम्मा ५२ लाख ५० हजार रुपैयाँ बरामद भएको हो। बरामद रकमको स्रोत नखुलेपछि चारै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारीले जानकारी गराए ।




