वीरगन्ज । पर्साका प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईले जिल्लामा जनतालाई सहज र प्रभावकारी प्रहरी सेवा उपलब्ध गराउनेसँगै सीमा क्षेत्रमा हुने तस्करी तथा आपराधिक गतिविधि नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्।
शुक्रबार जिल्ला प्रहरी कार्यालय पर्सामा सञ्चारकर्मीहरूसँग भएको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा एसपी भट्टराईले प्रहरी सेवालाई विश्वसनीय, सहज र जनमैत्री बनाउन आफू प्रतिबद्ध रहेको बताए।
उनले अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी प्रहरीको भए पनि अपराधरहित समाज निर्माण प्रहरीको एक्लो प्रयासबाट सम्भव नहुने उल्लेख गरे। त्यसका लागि सञ्चारकर्मी, स्थानीयवासीसहित समाजका सबै पक्षबीच सहकार्य र समन्वय आवश्यक रहेको उनको भनाइ थियो।
सामाजिक सद्भाव, अमनचयन र कानुनी शासनलाई प्रभावकारी बनाउन प्रहरी प्रशासनले निरन्तर काम गरिरहेको बताउँदै एसपी भट्टराईले प्रहरी र नागरिकबीचको सम्बन्ध अझ बलियो बनाउन आफूले जोड दिने बताए।
कार्यक्रममा सञ्चारकर्मीहरूले प्रहरी प्रशासनलाई थप पारदर्शी, प्रभावकारी र जनउत्तरदायी ढंगले अघि बढ्न सुझाव दिएका थिए। उनीहरूले पीडित तथा हिंसामा परेका व्यक्तिसँग संवेदनशील व्यवहार गर्न र उनीहरूको समस्या समाधानमा सहयोगी भूमिका निर्वाह गर्न प्रहरीलाई आग्रह गरे।
सञ्चारकर्मीहरूले प्रहरीबाट पत्रकारहरूलाई अनावश्यक दुःख दिने अवस्था अन्त्य गर्नुपर्नेमा समेत जोड दिएका थिए। कार्यक्रममा प्रहरी र सञ्चारकर्मीबीच नियमित समन्वय, सूचना आदानप्रदान तथा आपसी विश्वास अभिवृद्धिका विषयमा छलफल भएको थियो।




