वीरगन्ज । वीरगन्ज महानगरपालिका–११ श्रीपुरस्थित आर.पी. फार्मास्युटिकल्स प्रालिका सञ्चालक राहुल चौहान अवैध रूपमा औषधि प्याकिङ तथा कारोबार गरेको आरोपमा पक्राउ परेका छन्।
करिब डेढ वर्षदेखि फार्मास्युटिकल्सको आडमा अनुमति बिना औषधिजन्य पदार्थ प्याकिङ तथा बिक्री भइरहेको सूचनाका आधारमा शुक्रबार जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले फार्मास्युटिकल्समा छापा मारेको थियो।
खानतलासीका क्रममा प्रहरीले प्याकिङ गरिएका औषधि, कच्चा पदार्थका रूपमा राखिएका औषधिजन्य वस्तु, विभिन्न स्टिकर तथा लेबलसमेत बरामद गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले बिना अनुमति औषधिजन्य पदार्थ प्याकिङ भइरहेको सूचनाका आधारमा फार्मास्युटिकल्समा खानतलासी गरिएको पुष्टि गरे। उनका अनुसार चौहानलाई प्रहरी हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ।




