वीरगञ्ज । पर्सामा युवापुस्ता खराब संगत, लागूऔषध तथा विभिन्न प्रकारका कुलततर्फ आकर्षित हुँदै गएको भन्दै सरोकारवालाहरूले समयमै सचेतना, परामर्श, सीप विकास र रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिएका छन्।
सामाजिक संस्था जिल्ला समन्वय समिति पर्सा र एनसीई नेपालको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले युवाहरू कुलतमा फसेपछि सुधार गर्नुभन्दा त्यसअघि नै जोखिम पहिचान गरी रोकथामका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका हुन्।
‘भिन्न परिवेश, साझा आकांक्षा’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साका अध्यक्ष इब्राहिम देवानले बेरोजगारी, खराब संगत र अवसरको अभावका कारण युवाहरू लागूऔषधको दुर्व्यसनदेखि वैदेशिक रोजगारीसम्म पुग्ने अवस्था रहेको बताउनुभयो। उहाँले युवाको समस्या समाधानका लागि सरकारले उनीहरूको आवाज सुन्नुपर्ने, रोजगारीका अवसर सिर्जना गर्नुपर्ने तथा सामाजिक संस्थासँग सहकार्य गरेर प्रभावकारी कार्यक्रम अघि बढाउनुपर्ने धारणा राख्नुभयो।
एनसीई नेपालका केन्द्रीय उपाध्यक्ष रामप्रवेश साहले युवाहरूलाई सही दिशामा परिचालन गर्न सरकारी तथा गैरसरकारी निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। चियापसल, चोक तथा चौराहामा समय बिताउने युवालाई नकारात्मक दृष्टिले हेर्नुभन्दा उनीहरूको अवस्था बुझेर परामर्श र सही मार्गदर्शन दिनुपर्ने उहाँको भनाइ थियो।
नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति ब्रिजकिशोर पटेलले लागूऔषध तथा अन्य कुलतमा फसेका कतिपय युवा आपराधिक गतिविधिमा समेत संलग्न भई मुद्दा–मामिला खेप्ने अवस्थामा पुगेको बताउनुभयो। साथीभाइको लहलहैमा लागूऔषध सेवन, ओसारपसार तथा चोरीजस्ता गतिविधिमा युवाको संलग्नता बढ्न सक्ने भन्दै उहाँले समयमै नियन्त्रण र सचेतना आवश्यक रहेको बताउनुभयो।
सामाजिक संस्था जिल्ला समन्वय समितिका स्वयंसेवक दुलारचन्द साहले कुलतमा फसेका युवालाई दोषीका रूपमा हेर्नुभन्दा उनीहरूको समस्या पहिचान गरी सम्झाइबुझाइ सही बाटोमा ल्याउनुपर्ने बताउनुभयो। बेरोजगारी पनि युवाहरू कुलततर्फ आकर्षित हुनुको एउटा कारण हुन सक्ने भन्दै उहाँले रोजगारी र सीप विकासका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो।
दिव्य विकास स्रोत केन्द्रका प्रबन्ध निर्देशक रामकान्त पटेलले कुलतमा फसेका युवालाई पुनः समाजमा स्थापित गर्न सामाजिक संस्थाहरूले निरन्तर काम गरिरहेको बताउनुभयो। युवालाई सीप, रोजगारी तथा सामाजिक गतिविधिसँग जोड्न सके लागूऔषधको दुर्व्यसनबाट जोगाउन सकिने उहाँको भनाइ थियो।
जय नारायण चौधरीले युवाहरूको सीप, क्षमता र अध्ययनअनुसार रोजगारीको अवसर उपलब्ध गराउनुपर्ने बताउनुभयो। रोजगारीको अभावमा ठूलो संख्यामा युवा वैदेशिक रोजगारीमा जान बाध्य भइरहेको उल्लेख गर्दै उहाँले देशभित्रै युवाको श्रम र सीप उपयोग गर्ने वातावरण निर्माण गर्नुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साका उपाध्यक्ष सन्देश चौहानले कुलतको समस्या सहरमा मात्र सीमित नभई ग्रामीण क्षेत्रका युवामा समेत फैलिँदै गएको बताउनुभयो। स्थानीय तहहरूले जोखिममा रहेका युवाको पहिचान गरी परामर्श, सीप विकास तथा रोजगारीसँग जोड्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो।
सहभागी राजकुमारी गुप्ताले खराब संगत र कुलत युवाहरू बिग्रिनुको प्रमुख कारण बन्दै गएको बताउनुभयो। धूम्रपान, मदिरा, लागूऔषध तथा अन्य नशालु पदार्थको प्रयोगले युवाको भविष्यमा गम्भीर असर पारिरहेको भन्दै उहाँले कुलतमा फसेपछि मात्र नभई त्यसअघि नै युवालाई पहिचान गरी सचेत र सुरक्षित बनाउने अभियान आवश्यक रहेको बताउनुभयो।
उहाँले सामाजिक संस्था, एनसीई नेपालजस्ता गैरसरकारी निकाय तथा नेपाल सरकारबीच प्रभावकारी समन्वय हुन सके युवालाई सकारात्मक गतिविधि, सीप विकास, रोजगारी र सामाजिक नेतृत्वसँग जोड्न सकिने बताउनुभयो।
कार्यक्रममा सहभागीहरूले पर्सामा युवालाई लागूऔषध र कुलतबाट जोगाउने जिम्मेवारी प्रहरी वा प्रशासनको मात्र नभई परिवार, विद्यालय, स्थानीय तह, सामाजिक संस्था र राज्यका सबै निकायको साझा दायित्व भएको निष्कर्ष निकालेका थिए।
कार्यक्रमको सहजीकरण ललन पटेलले गर्नुभएको थियो।




