वीरगञ्ज । पर्साको वीरगञ्जबाट प्रहरीले ५०.७ ग्राम ब्राउन सुगर (खैरो हेरोइन) सहित दुई युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पकाहा मैनपुर गाउँपालिका–४ का २४ वर्षीय सम्साद देवान र बिन्दवासिनी गाउँपालिका–५ का २२ वर्षीय सनप्राज शेख रहेका छन्।
प्रहरीका अनुसार आइतबार भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको अनटेस्ट नम्बरको मोटरसाइकललाई लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगञ्जबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१५ स्थित सडकमा रोकेर जाँच गरेको थियो।
जाँचका क्रममा मोटरसाइकलमा सवार दुवै जनाको साथबाट ५०.७ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले ब्राउन सुगर र मोटरसाइकलसहित उनीहरूलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।




