वीरगञ्ज । वीरगञ्जमा खाद्य स्वच्छता र गुणस्तर कायम गराउन संयुक्त बजार अनुगमनलाई तीव्रता दिइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको खाद्य ल्याब भ्यानसहितको टोलीले शनिबार वीरगञ्जका विभिन्न खाद्य तथा पानी उद्योगमा अनुगमन गर्दै मापदण्डविपरीत भेटिएका खाद्य सामग्री नष्ट गर्नुका साथै केही व्यवसायीलाई जरिवाना गरेको हो।
वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित न्यू अंशु स्वीट्स एन्ड फास्ट फुडमा अनुगमन गर्दा अखबारले छोपेर राखिएको करिब २ किलो खुवा तथा म्याद गुज्रिएका फ्लेभर्स र रङका दुई डब्बा भेटिएका थिए। अखबार तथा पत्रिकाले छोपेर राखिएको करिब २ किलो पेडा जफत गरी नष्ट गरिएको र व्यवसायीलाई खाद्य स्वच्छता कायम गर्न निर्देशन दिइएको खाद्य निरीक्षक श्रवण साहले बताए।
रानीघाटकै सोनु स्वीट्समा पत्रपत्रिकाले छोपेर राखिएको करिब ६ किलो मिठाई फेला परेपछि जफत गरी नष्ट गरिएको छ। व्यवसायीलाई ५ हजार रुपैयाँ जरिवाना गर्दै मिठाई उत्पादनस्थल र समग्र सरसफाइमा सुधार गर्न सात दिनको समय दिइएको छ। तोकिएको समयमा सुधार नगरे पसल सिल गरी थप कारबाही गर्ने चेतावनी दिइएको छ।
रानीघाट–१० स्थित बोलबम प्योर ड्रिङ्किङ उद्योगले आवश्यक पूर्वाधार तथा सरसफाइ व्यवस्थापन नगरी खाद्य स्वच्छता मापदण्डविपरीत उद्योग सञ्चालन गरेको पाइएपछि पहिलो पटकका लागि ५ हजार रुपैयाँ जरिवाना गरिएको छ। उद्योगलाई सात दिनभित्र आवश्यक पूर्वाधार तयार गरी कार्यालयलाई जानकारी गराउन निर्देशन दिइएको छ।
त्यस्तै आदर्शनगर–१० स्थित रियल–मी मिनरल वाटर उद्योगमा मिनी प्रयोगशाला नभएको, कुचिएका जार प्रयोगमा रहेको तथा कामदारको व्यक्तिगत सरसफाइमा कमजोरी देखिएको थियो। उद्योगलाई सुधारका लागि निर्देशन दिँदै अनुगमनका क्रममा १९ वटा कुचिएका खाली जार नष्ट गरिएको छ।
आदर्शनगर–१० कै द हङ्ग्री आइसक्रिमलाई पनि खाद्य स्वच्छता तथा मापदण्ड पालना नगरेको भन्दै ५ हजार रुपैयाँ जरिवाना गरिएको छ।
खाद्य निरीक्षक साहका अनुसार उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका खाद्य सामग्रीमा लापरबाही गर्ने व्यवसायीमाथि कारबाही गर्दै बजार अनुगमनलाई निरन्तरता दिइनेछ। अनुगमनका क्रममा पसल तथा क्यान्टिनको सरसफाइ, भान्साको अवस्था, खाद्य सामग्रीको भण्डारण, कच्चा पदार्थ, उत्पादन तथा बिक्रीका लागि राखिएका खाद्य पदार्थको गुणस्तर र खाद्य स्वच्छता मापदण्डको पालनालगायत विषयमा निरीक्षण गरिएको थियो।
अनुगमनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज, खाद्य प्रविधि तथा गुण डिभिजन कार्यालय वीरगञ्ज, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको खाद्य ल्याब भ्यान, जिल्ला प्रशासन कार्यालय पर्सा, वीरगञ्ज उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पत्रकार तथा सम्बन्धित निकायका प्रतिनिधिहरू सहभागी थिए।
नियमित बजार अनुगमनबाट व्यवसायीलाई खाद्य स्वच्छता र गुणस्तरप्रति जिम्मेवार बनाउन तथा उपभोक्तालाई गुणस्तरहीन र अस्वच्छ खाद्य सामग्रीको बिक्रीबाट जोगाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै उपभोक्ताले पनि खाद्य सामग्री खरिद गर्दा उत्पादन मिति, म्याद, लेबल, प्याकेजिङ र सरसफाइजस्ता विषयमा ध्यान दिनुपर्ने देखिएको छ।




