वीरगञ्ज । वीरगञ्ज कपडा बैंकले आफ्नो स्थापना दिवसको अवसरमा घण्टाघरस्थित स्वर्गीय रामजन्म तिवारीको सालिक परिसरमा कपडा वितरण तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ।
२०७६ साल भदौ ७ गते वीरगञ्ज महानगरपालिका–८ मा कार्यालय स्थापना गरी नियमित रूपमा निःशुल्क कपडा उपलब्ध गराउँदै आएको कपडा बैंकले स्थापना दिवसका अवसरमा करिब ८० थान कपडा वितरण गरेको कोषाध्यक्ष मनोज मिश्राले जानकारी दिए।
वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संरक्षक तथा समाजसेवी अधिवक्ता सुरेन्द्र कुर्मीको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा अधिवक्ताद्वय पन्नालाल गुप्ता र प्रकाश उपाध्याय विशिष्ट अतिथिका रूपमा सहभागी थिए। यस्तै, नेपाल बार एसोसिएसन पर्साका सदस्य आशुतोष तिवारी, सल्लाहकार एवं सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवणबहादुर रायमाझी, सदस्य जानकीदेवी, विपिन पटेल, कर्मचारी मिथलेश श्रीवास्तव, सञ्चारकर्मी राज सराफ, आकाश पटेललगायतको सहभागिता थियो।
कार्यक्रममा प्रमुख अतिथि अधिवक्ता कुर्मीले ‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै दिनदुःखी तथा असहायको सेवा र सहयोगका लागि कपडा बैंक स्थापना गरिएको बताए। सात वर्षको निरन्तर यात्रामा नयाँसँगै अधिकांश प्रयोग गर्न मिल्ने पुराना कपडा उपलब्ध गराएर सेवा गर्न सफल भएकोमा आफूहरू खुसी र गर्वित रहेको उनले बताए।
कपडा बैंकलाई यहाँसम्म ल्याउन कपडा तथा आर्थिक सहयोग गर्ने दाता, सल्लाहकार, शुभेच्छुक, सञ्चारगृह, पत्रकार, पदाधिकारी तथा सदस्यहरूको महत्वपूर्ण योगदान रहेको भन्दै उनले सबैप्रति आभार व्यक्त गरे।
अध्यक्ष सिंहले ‘तपाईंसँग धेरै छ भने हामीलाई दिनुस्, तपाईंलाई आवश्यकता छ भने हामीसँग निःशुल्क लिएर जानुस्’ भन्ने भावनालाई आत्मसात् गर्दै विगत सात वर्षदेखि सेवा गर्दै आएको बताए। बैंकले वीरगञ्ज–८ स्थित कार्यालयबाट दैनिक रूपमा निःशुल्क कपडा वितरण गर्नुका साथै महिनामा एक–दुई पटक घण्टाघरलगायत पर्सा र बाराका आगलागी तथा बाढीपीडितका घरसम्म पुगेर कपडा वितरण गर्दै आएको उनले बताए। आवश्यकता अनुसार खाद्यान्न तथा अन्य सामग्रीसमेत सहयोग गर्दै आएको सिंहको भनाइ छ।
निःशुल्क कपडा वितरण अभियानलाई आगामी दिनमा अझ व्यापक बनाउँदै सेवाको गुणस्तरीयता र पहुँच विस्तार गर्ने योजना रहेको बताउँदै अध्यक्ष सिंहले यस अभियानमा सबैलाई हातेमालो गर्न आग्रह गरे।




