वीरगंज । प्रधानमन्त्री बालेन शाहले संसद् बैठकमा कालो चस्मा लगाउनुपर्ने कारण खुलाइएको स्वास्थ्य परीक्षण रिपोर्टसहितको पत्र संघीय संसद् सचिवालयमा पठाइएको छ।
संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार प्रधानमन्त्री शाहको आँखासम्बन्धी स्वास्थ्य परीक्षण रिपोर्टसहितको पत्र सचिवालयमा प्राप्त भएको हो।
यसअघि सभामुख डोलप्रसाद अर्याल (डीपी) ले संसद् बैठकमा कालो चस्मा लगाउने विषयमा सांसदहरूलाई प्रमुख सचेतक तथा सचेतकमाफर्त जानकारी गराउँदै स्वास्थ्यसम्बन्धी कारण भए त्यसको प्रमाणका रूपमा परीक्षण रिपोर्ट उपलब्ध गराउन भनेका थिए।
त्यसपछि प्रधानमन्त्री शाहले छाउनी अस्पतालमा गरिएको आँखाको परीक्षणको रिपोर्ट सचिवालयमा पठाएका हुन्। शाहले २२ साउनमा आँखा परीक्षण गराएका थिए। परीक्षणका क्रममा खाली आँखाले उज्यालो प्रकाश हेर्दा समस्या हुने देखिएपछि कालो चस्मा प्रयोग गर्नुपर्ने अस्पतालको रिपोर्ट २६ साउनमा संसद् सचिवालयमा पठाइएको हो।
यसैबीच, बुधबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुँदैछ। कार्यक्रममा ११ जना सांसदले प्रधानमन्त्रीसँग प्रश्न गर्नेछन्।
प्रतिनिधिसभा नियमावलीअनुसार प्रधानमन्त्री वा उनको कार्यक्षेत्रसँग प्रत्यक्ष सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्नोत्तरका लागि प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन बैठकको पहिलो एक घण्टा छुट्याउने व्यवस्था छ। सोही व्यवस्थाअनुसार बुधबारको बैठकमा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तय गरिएको हो।
कार्यक्रमका लागि प्रश्न गर्न इच्छुक सांसदले बैठक सुरु हुनुभन्दा तीन दिनअघि सभामुखलाई लिखित जानकारी दिनुपर्ने व्यवस्था छ। सोहीअनुसार सभामुखले भदौ ५ गतेभित्र प्रश्न दर्ता गर्न समय दिएका थिए। निर्धारित समयभित्र ११ सांसदले प्रश्न दर्ता गरेका छन्।
प्रधानमन्त्री शाह प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन संसद् भवनमा उपस्थित हुने तयारीमा रहेका बेला स्वास्थ्य परीक्षणका आधारमा उनलाई कालो चस्मा प्रयोग गर्नुपर्ने सम्बन्धी पत्र संसद् सचिवालयमा पुगेको हो।




