वीरगन्ज । नेपालगन्जमा प्रहरीले दुईवटा स्पा सेन्टरमा छापा मारेर काममा लगाइएका सात किशोरीको उद्धार गरेको छ। घटनामा एक भारतीय नागरिकसहित तीन जना स्पा सञ्चालक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–१० आदर्शनगरस्थित प्लेजर स्पाकी सञ्चालक भारतीय नागरिक गुडिया खान, सोही स्थानको आयुर्वेदिक रिल्याक्स स्पाकी सञ्चालक दुर्गा थारु र नेपालगन्ज–२ स्थित रिल्याक्स स्पाका सञ्चालक तर्कराज देवकोटा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरका अनुसार पक्राउ परेका तीनै जनामाथि जिल्ला अदालत बाँकेबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।
प्रहरीले विशेष सूचनाका आधारमा स्पा सेन्टरमा जाँच गर्दा किशोरीहरूलाई काममा लगाइएको अवस्थामा फेला पारेको जनाएको छ। उद्धार गरिएका किशोरीहरूलाई आवश्यक संरक्षण तथा व्यवस्थापनका लागि सम्बन्धित निकायको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका स्पा सञ्चालकमाथि बालबालिकासम्बन्धी ऐन, २०७५ अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




