वीरगन्ज । नेपाल सरकारले भोलि १० गते बुधबार मोहम्मद जयन्तीका अवसरमा मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयले २०८२ फागुन १८ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार मोहम्मद जयन्तीका दिन मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने व्यवस्था रहेको जनाएको छ। मुस्लिम आयोगबाट भदौ १० गते मोहम्मद जयन्ती परेको जानकारी प्राप्त भएपछि उक्त दिन मुस्लिम धर्मावलम्बीका लागि मात्र बिदा दिने निर्णय गरिएको मन्त्रालयले जनाएको हो।
यसैगरी, मधेश प्रदेश सरकारले पनि भदौ १० गते प्रदेशभर मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै मोहम्मद जयन्तीका अवसरमा प्रदेशमा मुस्लिम धर्मावलम्बीहरूका लागि बिदा लागू हुने जनाएको छ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले र मधेश प्रदेश सरकारका प्रवक्ता राधेश्याम प्रसाद पालद्वारा जारी छुट्टाछुट्टै सूचनामार्फत उक्त जानकारी दिइएको हो। मन्त्रालयहरूले मोहम्मद जयन्तीको अवसरमा सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरूमा शुभकामना समेत व्यक्त गरेका छन्।




