वीरगञ्ज । हालैको बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित विद्यार्थी तथा परिवारलाई लक्षित गर्दै डेसिमल परिवारले विशेष राहत कार्यक्रम घोषणा गरेको छ। विपत्तिका कारण परिवारको सदस्य गुमाएका, घरबारविहीन भएका तथा गम्भीर आर्थिक समस्यामा परेका विद्यार्थीलाई शिक्षाबाट वञ्चित हुन नदिन डेसिमल परिवारले पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने अवसर उपलब्ध गराउने भएको हो।
कार्यक्रमअन्तर्गत डेसिमल स्कूल वीरगञ्ज–२ मा नर्सरीदेखि कक्षा १० सम्मका प्रभावित विद्यार्थीले पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न पाउनेछन्।
त्यसैगरी, डेसिमल पब्लिक कलेज, वीरगञ्ज–८, पानीटंकी मा सञ्चालित कक्षा ११–१२ अन्तर्गत कानून, विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन तथा शिक्षा संकाय र बीबीए (BBA) कार्यक्रममा समेत प्रभावित विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने अवसर प्रदान गरिने डेसिमल परिवारले जनाएको छ।
बाढी तथा प्राकृतिक विपत्तिका कारण विद्यार्थीको पारिवारिक अवस्था कमजोर बने पनि उनीहरूको पढाइ नरोकियोस् भन्ने उद्देश्यले यो पहल अघि बढाइएको हो। विशेषगरी परिवारको सदस्य गुमाएका, आवास गुमाएका वा विपत्तिपछि गम्भीर आर्थिक संकटमा परेका विद्यार्थीलाई प्राथमिकतामा राखिने जनाइएको छ।
डेसिमल परिवारले विपत्तिको समयमा प्रभावित परिवारको साथमा उभिँदै ‘विपत्तिमा साथ, शिक्षामा निरन्तरता’ भन्ने भावनाका साथ यो राहत कार्यक्रम ल्याएको जनाएको छ। शिक्षालाई निरन्तरता दिन नसक्ने अवस्थामा पुगेका विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रमले राहत पुग्ने अपेक्षा गरिएको छ।
डेसिमल परिवारले दुःख र विपत्तिको समयमा प्रभावित विद्यार्थी तथा परिवारसँगै रहेको जनाउँदै शिक्षाबाट कुनै पनि विद्यार्थी वञ्चित नहोस् भन्ने प्रतिबद्धता व्यक्त गरेको छ।




