वीरगंज । रसुवामा बाढी तथा पहिरोपछि उद्धार कार्यमा खटिएका प्रहरी निरीक्षक रमेश रायले आफू अहिलेसम्म सकुशल रहेको जानकारी दिएका छन्।
विपद्का कारण जिल्लामा दुई दिनदेखि सञ्चार सञ्जाल प्रभावित हुँदा आफन्त तथा शुभेच्छुकसँग सम्पर्क हुन नसकेको उनले बताएका छन्।
रायले सामाजिक सञ्जालमार्फत आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सम्पूर्ण शुभेच्छुकप्रति धन्यवाद तथा आभार व्यक्त गर्दै फोन तथा सन्देशको जवाफ दिन नसकेकोमा क्षमायाचना गरेका छन्।
उनले आफू अहिले विपद् उद्धारमा खटिरहेको र सञ्चार सेवा अझै पूर्णरूपमा स्थिर नभएको बताएका छन्।
‘म अहिले विपद् उद्धारमा खटेको छु। अहिलेसम्म ठीक छु, पछि भन्न सकिन्न,’ उनले लेखेका छन्। रसुवामा बाढी तथा पहिरोका कारण सञ्चार, यातायातसहितका सेवा प्रभावित भइरहेका बेला सुरक्षा निकायका टोली जोखिम मोलेर खोज तथा उद्धारमा खटिएका छन्।





