वीरगंज । वीरगंज बैंकर्स ग्रुपको आयोजनामा बाढी–पहिरो प्रभावित, विशेषगरी भोटेकोशी बाढीपीडितको सहयोगार्थ आयोजित रक्तदान कार्यक्रममा ९ महिलासहित १११ जनाले रक्तदान गरेका छन्।
ग्रुपका अध्यक्ष रोहिणी आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहाल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। दहालले संकटका बेला आवश्यक पर्ने रगतको अभाव पूर्ति गर्न रक्तदानजस्तो मानवीय कार्यले महत्वपूर्ण योगदान पुग्ने बताए।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघ वीरगंजका अध्यक्ष हरि गौतम, नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाई, युवा नेता अरविन्द सिंह, नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका कोषाध्यक्ष अभिलाष गुप्तालगायतको उपस्थिति थियो। वीरगंजका विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।
रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभराज पाण्डेको प्राविधिक सहयोगमा भएको कार्यक्रममा रक्तदाताहरूको स्वास्थ्य परीक्षण तथा रक्त संकलनको व्यवस्थापन केन्द्रको टोलीले गरेको थियो।




