वीरगंज । वीरगंज महानगरपालिका–१५ मा कोठाको ताल्चा फुटाई गरगहना चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
बारा कोल्हवी नगरपालिका–१० घर भई हाल वीरगंज–१५ मा डेरा गरी बस्ने २० वर्षीया आरती कुमारी चौधरी भदौ १४ गते दिउँसो करिब १२ बजे कोठामा ताल्चा लगाएर सिलाई–बुनाईको काम गर्न गएकी थिइन्। साँझ करिब ८ बजे फर्किँदा कोठाको ताल्चा फुटाइएको र गरगहना चोरी भएको सूचना प्रहरीलाई प्राप्त भएको थियो।
अनुसन्धानका क्रममा प्रहरीले उनको कोठाको छेउमै डेरा गरी बस्ने बारा सिम्रौनगढ नगरपालिका–१० देवापुर टेंटा निवासी २० वर्षीय अर्जुन प्रसाद यादव र उनका गाउँकै साथी २० वर्षीय ओमप्रकाश प्रसाद यादवको कोठामा खानतलासी गर्दा चोरी भएका गरगहना फेला पारेको जनाएको छ।
बरामद गरगहनासहित दुवै जनालाई नियन्त्रणमा लिई चोरी तथा डाँकासम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।




