वीरगंज । नेकपा (एमाले) पर्सामा वीरगंज महानगर कमिटीको नेतृत्व चयनलाई लिएर विवाद देखिएको छ। जिल्ला अध्यक्ष डा. विषम्भरकुमार शर्माले सुन्दर कुर्मीलाई महानगर कमिटीको संयोजकमा मनोनयन गरेपछि कार्यवाहक अध्यक्ष लियाकत अलीले त्यसप्रति सार्वजनिक रूपमा आपत्ति जनाएका छन्।
कुर्मीको मनोनयनसँगै अलीले विज्ञप्ति जारी गर्दै आफूहरूको जानकारी, छलफल र आवश्यक परामर्शबिना गरिएको निर्णयप्रति ध्यानाकर्षण भएको बताएका छन्। पार्टीको विधि, विधान र संगठनात्मक प्रक्रियालाई पालना गर्दै नेतृत्वसम्बन्धी निर्णय हुनुपर्ने उनको भनाइ छ।
महानगर कमिटीको कार्यवाहक नेतृत्वले नै जिल्ला नेतृत्वको निर्णयमाथि प्रश्न उठाएपछि एमाले पर्साभित्रको संगठनात्मक मतभेद सतहमा आएको देखिएको छ। नेतृत्व चयनको विषयले कार्यकर्तामा समेत अन्योल र असन्तुष्टि बढाउन सक्ने भन्दै अलीले निर्णय प्रक्रियाप्रति असहमति जनाएका छन्।
जिल्ला र महानगर नेतृत्वबीच देखिएको यो मतभेदलाई एमाले पर्साको आन्तरिक शक्ति संघर्षका रूपमा समेत हेरिएको छ। अब पार्टीको माथिल्लो नेतृत्वले विवादलाई कसरी व्यवस्थापन गर्छ भन्ने विषयमा चासो बढेको छ।




